पाँचथर । पाँचथरको दुर्गम मानिने उत्तरी याङवरक गाँउपालिको वार्ड न. २ को बर्मे भन्ने गाँउमा सडक पुर्याउन सरकारले बजेट नदिएपछि चन्दा संकलन थालिएको छ । पटक पटक संघ, प्रदेश तथा स्थानिय सरकारलाई अनुरोध गरेपनि बजेट नपाएको भन्दै चन्दा संकलन सुरु भएको हो ।
ताप्लेजुङको कालिखोलाबाट बर्मे जोड्नका लागि रकम संकलन भईरहेको वार्ड अध्यक्ष देउकुमार योङहाङले बताए । ‘वार्डले थोरै बजेट (डेढ लाख) राखेको छ । गाउँपालिकाले सिलिङ्नै २० लाखमात्र दियो । गाउँपालिका, प्रदेश र संघ कतैबाट बजेट आएन् । त्यो विगत गाउँलाई सडक सुविधाभन्दा टाढा नराख्न धमाधम चन्दा संकलन गर्दैछौँ’ योङहाङले भने ‘पाँचथरबाट अहिले तत्कालबाटो लैजान निक्कै ठुलो बजेट लाग्छ । घुमाउरो भएपनि ताप्लेजुङको कालिखोलाबाट बाटो ल्याउन लागि रहेका छौँ ।’
ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाको कालिखोलाको श्यामटार भन्नेसम्म बाटो आहि सकेको छ । सिदिङ्वा गाँउपालिकाले छुट्याएको दशलाख बजेटले बाटो जहाँसम्म बन्द त्यहाँदेखि गाँउसम्म ल्याउनका लागि बजेट छुटिएको हो ।
बाँकि बाटो बनाएर गाउँमा सडक ल्याई पुर्याउने ठुलो सपना रहेको स्थानिय तिलोचन प्याकुरेलले बताए । ‘हाम्रो कुनाका मान्छेको कुरा सहरको सरकारले सुनेन् । सिदिङ्वाको बजेटले १२ सय मीटर जति बाटो बन्ला, त्यसपछि हाम्रो गाउँसम्म चार किलोमीटर सडक बनाउनु छ’ उनले भने ‘सहयोगबाट आएको रकमले मेसिनमा तेल लगाउँछौ । इँवा खोला तारेर सडक गाउँमा ल्याउने छौँ ।’
यो गाँउमा १६ परिवार बस्छन् । पाँचथरको मेजरचिङ्मा भन्ने ठाँउमा पुगेर गाडीको बाटो रोकिएको छ । घुमौरो भएपनि अहिलेलाई ताप्लेजुङको बाटो नजिक पर्छ । अहिले गाडीको बाटो भएर पाँच घण्टा हिड्दामात्र यो गाँउ पुग्छ । उच्च पहाडमा रहेको यो गाउँ चर्चित छ । यहाँ लद्यु जलविद्युत आयोजना, झोलुङ्गे पुल लगायतका संचरना बनाउन गाँउलेले निक्कै श्रम खर्च गरेका थिए । ‘केहि लाख रकम संकलन भईसकेको छ । पैसा मागिरहेका छौं, जम्मा भईरहेको छ । केहि दिनमा सार्वजनिक गरेर काम थाल्छौँ’, रकम संकलनमा संलग्न दिपक प्याकुरेलले जानकारी दिए ।
कालिखोलाबाट बर्मे सडक पुर्याउन दश लाख भन्दा बढि बजेट लाग्ने अनुमान छ ।




