ताप्लेजुङ । काठमाडौँबाट ताप्लेजुङ आएको जहाज प्रतिकूल मौसमका कारण पुनः काठमाडौँ फर्किएको छ । शुक्रबार बिहान आएको जहाज सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको हो ।
नियमित उडान तालिकाअनुसार आएको जहाज हुस्सु-कुहिरो लागेर भिजिबिलिटी कम भएकाले अवतरण हुन नसकेको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिए ।
बिहानको मौसम राम्रै भएर काठमाडौँबाट चार जना यात्रु लिएर आएको जहाज अवतरणको समयमा अचानक मौसम परिवर्तन भएकाले जहाज काठमाडौँ नैै फर्किएको उनको भनाइ छ ।
यसैगरी, ताप्लेजुङबाट समेत काठमाडौँ प्रस्थान गर्न सात जना यात्रु प्रतीक्षामा बसेका थिए । जहाज अवतरण नभएपछि पुनः लामो दूरीको गाडीबाटै यात्रा गर्न बाध्य भएका छन् ।




