पाँचथर । पाँचथर जिल्लाका दुई फरक स्थानमा हिजो फेला परेका शवमध्ये एक जनाको पहिचान खुलेको छ भने अर्काे शवको पहिचान अझै हुन सकेको छैन।
फाल्गुनन्द गाउँपालिका–७ स्थित सुलुम्फिको देउराली भिरको झाडीमा हिजो बेवारिसे अवस्थामा फेला परेको शव कुम्मायक गाउँपालिका–१ यासोक बजारका ३५ वर्षीय किरण त्रिखत्रीको भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ। मृतकको झोलाबाट फेला परेका नागरिकता र अन्य कागजपत्रका आधारमा शवको पहिचान गरिएको हो।
त्रिखत्री १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन थिए। सडकदेखि झन्डै १०० मिटर तल झाडीमा शव भेटिएको थियो। इलाका प्रहरी र स्थानीयवासीको टोलीले घटनास्थल पुगेर शवको पहिचान गरेका हुन्। शव पोष्टमार्टमका लागि फिदिम पठाइएको छ।
त्यसैगरी, मिक्लाजुङ गाउँपालिका–५ मा पनि हिजो एक जना महिला जस्तो देखिने व्यक्तिको शव फेला परेको छ। शव केही दिनअघि मृत्यु भएको अनुमान गरिएको छ। तर, पहिचान नखुलेको कारण विस्तृत विवरण आउन बाँकी छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार दुबै घटनाको विषयमा अनुसन्धान सुरु गरिएको छ।




