काभ्रे ।काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ ।
बनेपा नपा–११ बानियाँ टोलमा डेरागरी बस्दै आएका घिमिरेलाई प्रहरीले गएराति पक्राउ गरेको हो । उनी बनेपाकै तीन दोबाटोमा फेन्सी पसल व्यवसाय गर्दै आएका थिए । प्रहरीले उनका श्रीमती ३० वर्षीय मनिषा कार्की घिमिरे र ६ वर्षीय छोरा युवानलाई गएराति १२ बजे उनी बस्ने डेरामा मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए ।
बिहीबार बेलुका बनेपा नपा–८ करुणामार्गस्थित भित्री गल्ली बाटोमा भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
घिमिरेले आफूले पनि विभिन्न प्रकारका औषधि सेवन गरेको भनेपछि उपचारका लागि उनलाई प्रहरीले आफ्नै नियन्त्रणमा बनेपास्थित शिरमेमोरियल अस्पतालमा भर्ना गराएको छ । घिमिरेको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । घिमिरेले श्रीमती र छोरालाई विषादी सेवन गराएको र आफूले पनि सिटामोललगायत विभिन्न थरीका सयभन्दा बढी चक्की औषधि सेवन गरेको प्रहरी समक्ष बताएका छन् । मृतक दुवैको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।