पाँचथर- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकलाई पछाडि फर्काउने खेल सफल नहुने बताएका छन् ।
सोमबार एमाले पाँचथरले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले गणतन्त्रात्मक मुलुकलाई पछाडि फर्काउने खेल किमार्थ सफल हुन नदिइने बताएका हुन् ।
‘गणतन्त्रमा राजावादीहरूले नाराबाजी गर्न पाएका छन् । तर, हिजो राजाको शासनमा बोल्नसमेत पाइँदैन थियो,’ उनले भने, ‘अब मुलुक पछाडि फर्किन सक्दैन, त्यो गर्न हामी दिँदैनौँ ।’
उपमहासचिव ज्ञवालीले अराजकता मच्चाउनेहरूमाथि कारबाही हुने बताए । ‘लोकतन्त्रमा लोकतन्त्रविरोधीलाई पनि ठाउँ छ । तर, अराजकता मच्चाउन पाइँदैन, अराजकता मच्चाउनेहरूलाई सरकारले छोड्दैन,’ उनले भने ।