सिन्धुपाल्चाेक । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि सिन्धुपाल्चोक र काभ्रेका किसान चिन्तामा परेका छन् । मुख्यतः मेलम्ची बजारबाट उत्तरतर्फबाट आएको मेलम्ची नदीले कनारका अधिकांश स्थानका खेतीयोग्य जमिन कटान गरेको छ ।बुधबार हेलिकोप्टरमार्फत् पहिरो गएको भनिएको स्थान हेर्न पुगेका सिन्धुपाल्चोकका प्रदेशसभा सदस्य युवराज दुलालका अनुसार मेलम्ची नदी बगेको स्थानका अधिकांश नदी किनार क्षेत्रमा खेतीयोग्य जमिन कटान भएको छ । इन्द्रावती र मेलम्ची मिसिएको मेलम्ची बजारबाट तल रहेको सिन्धुपाल्चोक र काभ्रे जिल्लाका भूभागमा पनि नदीले थप क्षति पुराएको छ ।
बुधबार काभ्रेका मण्डनदेउपुरका कृषकहरु नदीले आफ्नै जमिन कटान गरिरहेको टुलुटुलु हेरेर बसेका थिए । भर्खर रोपेको धान र भित्र्याउने बेला भएको मकै रोपेको खेत बाढीले कटान गरेपछि उनीहरु निराश देखिन्थे । मण्डनदेउपुर नगरपालिका–७ काभ्रेका श्याम राईसँग धान रोपेको आफ्नो खेत कटान भइरहेको दृश्य हेर्नुबाहेक अर्को विकल्प थिएन । बिहानैदेखि उनी सडकछेउमा बसेर खेत कटान भएको हेरिरहेका थिए । बिहान थोरैमात्रै कटान भएको उनको खेत अपरान्हसम्म आधाभन्दा बढी सकिइसकेको थियो । बेलुकासम्म सबै खेत बगरमा परिणत हुने उनी बताउँदै थिए ।
त्यही खेतको उब्जनीबाट ६ महिनासम्म खान पुग्ने गरेको श्यामले बताए । तर नदी किनारको उब्जाउ हुने खेत नै नदीले कटान गरेपछि अब के खाने भन्ने चिन्ता बढेको श्यामले बताए ।
यसअघि १ वर्ष ठूलो बाढी आएर रोपेको धान बगाएको भएपनि खेत नै कटान भने नभएको उनले सुनाए । तर यसपटक लेदोसहित आएको बाढीले खेत नै कटान गरेर बगर बनाइदिएको श्यामले बताए ।सडक किनारबाटै आफ्नो खेत बगाइरहेको दृश्य हेरिरहेका सानुकान्छा राई पनि अब बालबच्चालाई के खुवाउने होला भनी चिन्ता गरिरहेका थिए । इन्द्रावती नदीमा आएको बाढीले आफ्नो पाकेको मकैसहितको खेत बगाएको उनले गुनासो गरे । उनको करिब ३ ट्रिपर पाकेको मकै र अर्को ३ ट्रिपर उब्जनी धान उब्जनी हुने खेत बगाएको बताए ।
साननुकान्छा क्रसर व्यवसायीको लापरवाहीको कारण आफ्नो खेत बगाएको भन्दै क्रसर व्यवसायीप्रति आक्रोश पोखिरहेका थिए । क्रसर व्यवसायीसँग पटकपटक आग्रह गरी नदी किनारमा तारजाली गरिदिन आग्रह गरेको भएपनि व्यवसायीले अटेर गर्दा आफ्नो खेत बगेको उनले बताए ।
बालबच्चा पाल्ने र उब्जनी हुने खेत नै बगाएपछि अब आफूहरु भोकभोकै मर्ने अवस्था आएको सानुकान्छाले सुनाए । चाँडोभन्दा चाँडो राहतको व्यवस्था गर्न पनि उनले स्थानीय निकाय र सरकारसँग आग्रह गरे ।
फाेटाे र समाचार राताेपाटीबाट