काठमाण्डाै ।मेलम्ची खानेपानी विकास समितिले आयोजनाका ८ कामदार सम्पर्कविहीन भएको बताएको छ।
बुधबार विज्ञप्ति जारी गर्दै आयोजनाले ३ चिनियाँ, ३ भारतीय र २ नेपाली कामदार सम्पर्कविहीन रहेको बताएको छ।
यस्तै आयोजनाका ७६ जनालाई बुधबार हेलिकप्टरबाट उद्धार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।
उद्धार गरिएकाहरूलाई काठमाडौं र धुलिखेल ल्याइएको छ।
सम्पर्कमा आउन बाँकी रहेका कामदारहरूको खोजीमा सबै संयन्त्र परिचालन गरिएको उनले बताए। कामदारहरूको खोजी तथा उद्धारका लागि आयोजनाले सबैमा सहयोगका लागि अपिल गरेको छ।
आयोजनाको हेडवर्क्स नजिकैको क्याम्पसाइट बाढीले बगाएपछि मंगलबार रातिदेखि नै प्रहरी, प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी गरिएको थियो।
बाढीले आयोजनाका क्याम्पहरू, उपकरण, निर्माण सामग्री, पहुँच सडक, पुल बगाएको छ।
प्राविधिक निरीक्षणका लागि आयोजनाको सुरूङ मंगलबार बिहान ११ बजेदेखि बन्द गरिएको थियो। सुरूङ समयमै बन्द गरिएकोले ठूलो दुर्घटनाबाट जोगिएको छ।