इलाम ।
प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम—२ को मतगणना अहिले बिहान ७ बजेबाट सुरू हुँदैछ।
शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको हो।
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार बिहान ७ बजे सर्वदलीय बैठक बस्नेछ।
त्यसपछि मतगणना आरम्भ हुने उनले बताए।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो।
यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन्। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खसेको बताए।
इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइपुर्याइसकिएको छ।
चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिकाका सबै वडा, इलाम नगरपालिकाका १० नम्बर बाहेकका सबै (११ वटै) र माई नगरपालिकाका ६, ७ र ८ गरी कुल ४२ वडा इलाम–२ मा पर्छन्।
मतगणनाका लागि सदरमुकामस्थित सिटी हलमा व्यवस्था गरिएको छ। सिटीहलको एउटा कोठामा तारजाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने र प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार गरिएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार गणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएका छन्। ’गणनाको अंक प्रत्येक घन्टा सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘इलाम चोक बजारको डिस्प्लेमा समेत मतगणनाको नतिजा सार्वजनिक गर्दै जाने तयारी गर्दैछौं।’