चैत ३० देखि वैशाख २ गतेसम्मका सञ्चालन हुने महोत्सवका लागि विभिन्न कार्यक्रम अघि सारिएको छ । महोत्सवको मुख्य कार्यक्रम नयाँ वर्षको दिन वैशाख १ गते हुनेछ ।
चौरी प्रर्दशनी, चौरीजन्य उत्पादनको खानपान, भौगोलिक अवस्थाको अवलोकन, याक चौरीमा आधारित विभिन्न खेलकुद, क्रस बोर्डर टुरिज्म सांस्कृतिक कार्यक्रमलगायतका विविध क्रियाकलाप सञ्चालन गरिने बताइएको छ ।
‘हाम्रा लागि यो अत्यन्त महत्पूर्ण कार्यक्रम हो । चौरी महोत्सवले देश विदेशमा ख्याती कमाइसकेको छ । यसको निरन्तरता र हिमाली क्षेत्रमा भव्यताका साथ महोत्सव सञ्चालन गर्नका लागि प्रयास गरिरहेका छौँ’, फालेलुङ गाँउपालिकाका अध्यक्ष विरविक्रम थाम्सुहाङले भने, ‘योपल्टको महोत्सवलाई पनि भव्य बनाउने योजना छ ।’
उच्च पहाडी क्षेत्रका आर्कषक स्थानमा हुने महोत्सवमा चौरीजन्य सामग्रीको प्रर्दशनी, घुमघाम, सांस्कृतिक कार्यक्रमहरु हुने गरेका छन् । चौरी महोत्सव फालेलुङ गाँउपालिका, कञ्चनजंघा पर्यापर्यटन संस्था, दीपज्योती युवा क्लब र कञ्चनजंघा चौरी पालन संरक्षण संस्थाले आयोजना गर्न लागेको हो भने सूर्योदय युवा क्लबले व्यवस्थापनमा सहयोग गर्दै छ । नेपाल पर्यटन बोर्ड, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पत्रकार महासंघ पाँचथर लगायतका संस्थाहरुले प्रवद्र्धन गरेका छन् ।
उच्च पहाडी क्षेत्रमा चौरी पालन गर्ने परम्परागत व्यवसायको रुपमा रहेको छ । पछिल्ला वर्ष पाँचथर, ताप्लेजुङमा चौरी पालन गर्ने क्रम भने घट्दै गएको छ । चौरी पालन व्यवसायलाई व्यवस्थित र थप व्यवसायिक बनाउन सरकारी सहयोग महत्वपूर्ण रहेको छ ।