१५ वैशाखमा हुने इलाम २ को उपचुनावका लागि शनिबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले शनिबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म मनोनयनको समय तोकेको थियो ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
वर्तमान सत्ता गठबन्धनमै रहेका तीन दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बू र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राई उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनको माओवादी केन्द्रले भने एमाले उम्मेदवार सुहाङलाई समर्थन गरेको छ ।
यस्तै नेपाली कांग्रेसबाट डम्बर खड्का, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनीबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार र नेसनल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।