पाँचथरको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले मंगलबार दिउँसो कार्यकक्षमा वडाध्यक्ष र अन्य केही उपस्थितलाई आफ्नो ट्याब देखाउँदै भने- ‘यसमा स्कुल मात्र देखिँदैन त्यहाँको आवाज पनि सुनिन्छ ।’
फिदिम नगरपालिकामा रहेका २० सामुदायिक विद्यालयमा सीसीटीभी जडान गरेपछिको दृष्य देखाउँदै मेयर काफ्लेले यस्तो बताएका हुन् । अब विद्यालयहरूमा नियमितता हुने अपेक्षा रहेको पनि उनले सुनाए ।
नगरपालिकाले हरेक माध्यमिक विद्यालयमा चारवटा सीसीटीभी क्यामेरा जडान गरेर उद्घाटन गरेको छ । विद्यालयमा हुने गतिविधिको नियमित अनुगमन गर्ने गरी क्यामेरा जडान गरिएको हो ।
विद्यालय परिसर तथा कार्यालय देखिने गरी आवाजसहितको क्यामेरा जडान भएको हो । नगरपालिकाको शिक्षा शाखा, मेयर र उपमेयरको मोबाईलबाट विद्यालयको गतिविधि हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।
‘सुरुमा सीसी क्यामेरा जोड्नेभन्दा धेरैले पत्याएनन् । आधुनिक प्रविधिको प्रयोग गरी विद्यालयको नियमित अनुगमन गर्ने सुरुवात गरिएको हो । हाम्रा विद्यालयलाई सुधार नगरी नहुने अवस्था आयो । ई-हाजिरी जडान गरी सञ्चालनमा छ,’ मेयर काफ्ले भन्छन्, ‘हेर्दा सानो देखिएला तर हाम्रो लागि महत्त्वपूर्ण रहेको छ । सरकारी विद्यालय नसुधारी नहुने अवस्थामा छ ।’
वडाध्यक्षहरूले शिक्षकले आफूहरूलाई नटेर्ने गरेको गुनासो गर्ने गरेका छन् । ८ लाख ८५ हजार खर्चिएर क्यामेरा जडान भएको हो ।
उद्घाटन कार्यक्रममा पाँचथरका प्रमुख जिल्ला मेखबहादुर मंग्रातीले विद्यालयको अनुगमनका साथै विद्यालय परिसरमा हुने अरुखाले गतिविधि पनि निगरानी तथा अनुसन्धान गर्न सीसीटीभी क्यामेरा सहयोगी हुने बताएका थिए ।
यसले विद्यालयहरूको नतिजा सुधारमा सहयोग पुर्याउने शिक्षा इकाई पाँचथरका प्रमुख युगमणि सवेहाङको भनाइ छ । नियमित पठनपाठनका लागि नगरपालिकाको ध्यान गएको उनले बताए ।
सीसीटीभी क्यामेरा जडानपछि नगरपालिकाबाट आफूहरूलाई हेरिरहेभएको भन्ने भावना सिर्जना भएको फिदिम माविका प्रध्यानाध्यापक विनोद ठाकुर बताउँछन्