झापा । झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा एक महिलाको पाठेघरबाट ६ केजीको ट्युमर शल्यक्रिया गरेर निकालिएको छ ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. एकराज गौतमले ती महिलाको शल्यक्रिया गरेका हुन् ।झापा विर्तामोड भन्दा करिब १० किलोमिटर पूर्वदक्षिण घर भएकी महिलाको पेट अस्वाभाविक तरिकाले बढ्न थाल्यो । तर उनी गर्भवती भने भएकी थिइनन् । केही अप्ठ्यारो हुन्जेल उनले कसैलाई भनिनन् । चिकित्सककहाँ पनि गइनन् ।
तर जब पेट दुख्न थाल्यो उनी झापा बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पताल पुगिन् । त्यहाँ स्त्रीरोग विशेषज्ञ डा. एकराज गौतमलाई उनले आफ्नो समस्या देखाइन् । डा. गौतमले सिटि स्क्यान गर्ने सल्लाह दिए त्यसपछि उनको पाठेघरमा ट्युमर रहेको पत्ता लाग्यो ।
डा. गौतमले शल्यक्रिया गरेर महिलाको पाठेघरमा रहेको ट्युमर निकाल्ने निर्णय लिए । सोमबार ती महिलाको पाठेघरबाट अस्वाभाविक तरिकाले बढिरहेको ट्युमर डा. गौतमले निकाले । शल्यक्रिया गरेर निकालेको ट्युमर करिब ६ केजीको रहेको डा. गौतमले बताए ।
उनले भने, ‘पहिला त यति ठूलो ट्युमर छ भन्ने लागेको थिएन । तर अस्वाभाविक पाइयो । तौल गर्दा ठ्याक्कै ६ केजी रहेछ ।’ अहिले ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. गौतमले बताए ।बिर्तामोडमा रहेको मनमोहन ममोरियल सामुदायिक अस्पतालमा यस्ता जटिल किसिमका शल्यक्रिया हुने गरेका छन् ।
यस्ता जटिल किसिमका समस्या आउँदा तत्काल चिकित्सकसंग परामर्श गर्न पनि डा. गौतमले आग्रह गरेका छन् ।