काठमाण्डाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक मन्त्री हेरफेर गर्ने बताउँदै आएका छन् । सरकारले एक वर्ष कार्यकाल पूरा गरेको अवसरमा गरिएकाे सम्बोधनमा पनि उनले काम गर्ने हुटहुटी भएको तर साेचेअनुसार काम हुन नसकेको बताउँदै मन्त्री फेर्ने संकेत दिएका थिए ।
उनले जुन स्पिडमा काम हुनुपर्ने हो, त्यो हुन नसकेको भन्दै आफ्नै सरकारका मन्त्रीप्रति पनि असन्तुष्टि पोख्दै आएका छन् । प्रधानमन्त्री प्रचण्ड एक वर्ष कार्यकाल पूरा भएपछि सरकारका मन्त्री मात्र होइन, मन्त्रालय नै हेरफेर गर्ने सोचमा थिए । तर, सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरू दुई वर्षका लागि सरकारमा गएको भन्दै नफेर्ने बताएपछि प्रचण्डकाे याेजना पूरा हुन पाएन ।
बुधबार कांग्रेस उपसभापतिसमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्री नफेर्ने सहमति भएको दाबी गरेका छन् । तर, प्रधानमन्त्री प्रचण्ड भने सबै मन्त्री फेर्ने, नभए माओवादी र एकीकृत समाजवादीका मन्त्री र मन्त्रालय फेरबदल गर्न अहिले पनि प्रयासरत रहेकाे बालुवाटार स्रोतले बताएकाे छ । ‘प्रधानमन्त्रीले मन्त्रीहरू सबै फेरबदल गर्न चाहनुभएको थियो । तर, कांग्रेसले आफ्ना मन्त्री फेर्न नमान्दा माओवादी र नेकपा एसका मन्त्रीहरू फेरबदल गर्ने तयारीमा हुनुहुन्छजस्तो छ,’ स्राेतले भन्याे ।
माओवादीबाट दुई जना मन्त्रीको कामप्रति प्रचण्ड त्यति सन्तुष्ट नभएको स्रोतकाे भनाइ छ । स्रोतले भन्याे, ‘संस्कृति पर्यटन तथा उड्डयनमन्त्री सुदन किराँती र ऊर्जामन्त्री शक्ति बस्नेतले देखिने गरी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्छ । केही मन्त्रीले राम्राे गर्नुभएकाे भनेर सन्तुष्ट पनि हुनुहुन्छ । तर, केहीलाई मात्रै हटाउँदा कारबाही गरेजस्तो हुने हुँदा माओवादीको सेट नै परिवर्तन गर्न चाहनुभएको छ ।’
प्रधानमन्त्रीले गठबन्धनमा छलफल गरेर मन्त्रीहरू फेरबदल गर्न चाहनुभएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए । ‘प्रधानमन्त्रीले बैठकमा नै त प्रस्ताव ल्याउनुभएको छैन । भेट हुँदा मन्त्रीहरू फेरबदल गर्न चाहेको छु के हुन्छ भनेर सोध्नुभएको हाे । हामीले पनि फेरबदल गर्दा ठीक हुन्छ भनेका छौँ,’ उनले भने ।
पहिला भौतिक पूर्वाधारमन्त्री बनेका नारायणकाजी श्रेष्ठ पछि गृहमन्त्री बनेका थिए । गृहमन्त्री बनेपछि केही राम्रा काम गरेर चर्चामा आएपछि उनले प्रधानमन्त्रीलाई नै बाइपास गरेर काम गरेकाे विषय माओवादीभित्र चर्चामा छ । पार्टीको भन्दा पनि आफ्नो समूहको मात्र काम गर्ने कार्यशैलीले उनीसँग प्रधानमन्त्री प्रचण्ड रुष्ट बनेको माओवादी नेताहरू बताउँछन् ।
माओवादीभित्र मन्त्री फेर्ने हल्ला फैलिएपछि असन्तुष्टिसमेत बढेको छ । श्रेष्ठले आफ्नो निरन्तरता हुनुपर्ने भनाइ प्रधानमन्त्रीसँग राखेको बताइन्छ । आफूलाई गृहमन्त्रीबाट हटाउनु हुँदैन भनेर प्रधानमन्त्रीलाई घुर्क्याउने काम श्रेष्ठले गर्न थाल्नुभएको भन्ने कुरा सुन्नमा आएको माओवादीका एक केन्द्रीय सदस्यले बताए ।
ती केन्द्रीय सदस्यले भने, ‘राम्रो काम गर्दागर्दै पनि मन्त्रीबाट हटाउन नहुने भन्दै प्रधानमन्त्रीसँग भन्न थाल्नुभएको भनेर सुन्नमा आएको छ । तर, प्रधानमन्त्री गृहमन्त्रीको कार्यशैलीप्रति सन्तुष्ट हुनु हुन्न । पार्टीभन्दा पनि व्यक्तिलाई केन्द्रमा राख्ने प्रवृत्तिले प्रधानमन्त्री रुष्ट हुनुभएको हाे ।
पर्यटनमन्त्री किराँतीले विभिन्न नियुक्ति गर्दा होस् कि अन्य काम गर्दा होस् प्रधानमन्त्रीलाई नसोधेर मनमर्जी तरिकाले गरेकाले उनलाई पनि हटाउने तयारी प्रचण्डकाे छ । प्रधानमन्त्रीले किराँतीलाई हटाउने मात्रै हाेइन, उनले सम्हालेकाे पर्यटन मन्त्रालय र भाैतिक याेजना तथा तथा पूर्वाधार मन्त्रालय नेकपा एससँगै साटफेरकाे तयारीसमेत गरेकाे स्राेतकाे भनाइ छ ।
त्यसो त प्रधानमन्त्रीले गृह मन्त्रालय र अर्थ मन्त्रालय पनि फेरबदल गर्न चाहेका थिए । तर, कांग्रेसले महासमिति बैठकभन्दा पहिला यो विषयमा केही पनि नगर्ने जानकारी गराएको माओवादीका एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने, ‘प्रधानमन्त्रीले मन्त्री र मन्त्रालय हेरफेर गरेर जाने तयारीअनुसार कांग्रेस नेतृत्वसँग कुरा गर्नुभएको थियो । तर, कांग्रेसले महासमिति बैठकभन्दा पहिला मन्त्री हेरफेर नगर्ने कुरा गरेको छ । तत्काल माओवादी र नेकपा एसका मात्र भए पनि मन्त्री हेरफेर हुन सक्छन् ।’
प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई गृह मन्त्रालय दिएर अर्थ मन्त्रालय लिन चाहेका थिए । अर्थतन्त्रमा सामान्य सुधार मात्र हुँदा समस्या आएको बुझाइ प्रचण्डकाे छ । त्यसाे त प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच साैहार्द सम्बन्ध विकसित हुन नसकेकाे चर्चा पनि छ । प्रधानमन्त्रीले आफूसँग अर्थ मन्त्रालय राखेर उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने योजना बनाएका थिए । तर, कांग्रेसका कारण त्यो तत्काल सम्भव नहुने देखिएको छ ।
तर, प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमिल्सेना अहिले प्रधानमन्त्रीको ध्यान मन्त्री हेरफेरमा नरहेकाे बताउँछन् । ‘अहिले प्रधामनमन्त्रीको ध्यान बन्द उद्योग कसरी सञ्चान गर्न सकिन्छ भन्नेमा लागेकाे छ । मन्त्री हेरफेरमा छलफल भएको छैन,’ उनले भने ।
अर्काेतिर नेकपा एसमा पनि सबैलाई मन्त्रीको भाग पुर्याउनुपर्ने बाध्यता छ । अहिले यो पार्टीबाट वेदुराम भुसाल कृषिमन्त्री र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् भने नन्दा चपाईं राज्यमन्त्री छिन् । भुसालले काम नै गर्न नसकेको भनेर प्रधानमन्त्री नै सन्तुष्ट नभएको बताइन्छ । जनमत पनि सरकारमा बस्ने नबस्ने दोधारमा छ । जनमतले आफू बाहिर नआउँदै प्रधानमन्त्रीले नै हटाइदेओस् भन्ने चाहेको देखिन्छ । प्रधानमन्त्रीले अहिले नै जनमतलाई हटाउने मनस्थिति भने नबनाएकाे बालुवाटार स्रोत बताउँछ ।