बिराटनगर । कोशीको मुख्यमन्त्रीमा नियुक्त भएको एक सय दिन पुगेको अवसरमा उपलब्धि सार्वजनिक गर्ने क्रममा केदार कार्कीलाई पत्रकारको प्रश्न थियो- मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिनुहुन्छ ?
पत्रकारको प्रश्नमा मुख्यमन्त्री कार्कीले ठट्यौली शैलीमा जवाफ फर्काए, ‘मलाई र अहिले भएकै टिमलाई प्रदेशको काम पुगेको छैन, किन विस्तार गर्नुपर्यो र अहिले नै ?’ कांग्रेसका ८ सांसदले गरेको विद्रोहमा एमालेका ३९ सांसदले समर्थन गरेपछि गत २७ असोजमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्तिपछि कार्कीले एमालेका राम राना र विद्रोहमा साथ दिएका शमशेर राईलाई तत्काल बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका थिए ।
पछि सत्तारुढ गठबन्धनले आफ्नै मुख्यमन्त्री भएको स्वीकार गरेपछि कार्की पुनः कांग्रेस, माओवादी, नेकपा एस र जसपाको गठबन्धनभित्रै पुगेका थिए । सत्तारुढ गठबन्धनमै ‘एडजस्ट’ भएपछि एमालेले कार्कीसँग गरेको सहकार्य ‘ब्रेक’ गरेको थियो । एमालेले साथ छोडेपछि कार्कीले माओवादीबाट गणेश उप्रेती र नेकपा एसबाट कमल जगेवुलाई मन्त्री बनाए । त्यसयता अहिलेसम्म कार्कीसहित चार जना मन्त्रीले नै कोशी प्रदेशको सत्ता सञ्चालन गरिरहेका छन् ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, स्वास्थ्य मन्त्रालय, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय अझैसम्म मन्त्रीविहीन छन् । यी सबै मन्त्रालय अहिले कार्कीले आफैँसँग राखेका छन् ।
८ माघमा एक सय दिन पुगेको अवसरमा मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारसम्बन्धी विषयलाई सार्वजनिक रूपमा बोल्न चाहेनन् । किनभने ११ माघको राष्ट्रियसभा निर्वाचनअघि कार्की मन्त्रिपरिषद् विस्तारको लफडामा फस्न नचाहेको देखिथ्यो । तर, राष्ट्रियसभा निर्वाचन सकिएपछि पनि कार्कीले मन्त्रिपरिषद् विस्तारलाई आफ्नो प्राथमिकतामा भने नराखेको देखिन्छ ।
निर्वाचनमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारमाथि फ्लोर क्रस भएर एमाले उम्मेदवार निर्वाचित भएपछि सत्तारुढ गठबन्धनमा केही ‘अविश्वास’ देखिएको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ ले कोशी प्रदेशमा गठबन्धनभित्र माओवादीलाई घात भएको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।
कहिले हुन्छ मन्त्रिपरिषद् विस्तार ?
राष्ट्रियसभा निर्वाचनपछि हुने भनिएको मन्त्रिपरिषद् विस्तार त्यसो भए किन रोकिएको छ त ? भन्ने जिज्ञासामा कांग्रेसभित्रै एक मत छैन । कांग्रेस संसदीय दलको नेता एक जना र मुख्यमन्त्री कांग्रेसकै अर्को व्यक्ति भएकाले सरकार कहिले विस्तार हुन्छ भन्नेमा कांग्रेसभित्रै स्पष्ट जवाफ छैन
‘मन्त्री बनाउने कुराको संकेत अहिले संसदीय दलमा देखिँदैन,’ कोशी प्रदेशसभा सदस्यसमेत रहेका एक कांग्रेस नेता भन्छन्, ‘कांग्रेसभित्र धेरै कांग्रेस छन् । विस्तार कहिले हुन्छ भन्ने जानकारी मुख्यमन्त्रीलाई मात्र थाहा छ ।’ केही दिनमा मन्त्रिपरिषद् विस्तार हुने संकेत गर्दै आएका मुख्यमन्त्री कार्की दुई दिनअघिदेखि संघीय राजधानी काठमाडौंमा छन् । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लिलावल्लब घिमिरेका अनुसार प्रहरी समायोजनका बैठकदेखि प्रदेशमा काम गर्दै आएका विभिन्न डोनर एजेन्सीका प्रतिनिधिहरूसँग छलफलमा कार्की छन् ।
‘प्रहरी समायोजनको बैठक चलिरहेको छ केही दिनदेखि । प्रदेशमा काम गर्ने डोनर एजेन्सीहरूका प्रतिनिधिहरूसँग पनि छलफल छ,’ घिमिरेले भने । प्रदेशको कामसँगै संघीय राजधानीमा भएका नेताहरूसँग भेटेर कार्कीले मन्त्रिपरिषद् विस्तारको कुरा टुङ्ग्याउने तयारीसमेत गरिरहेका छन् ।
सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले अहिले एउटा मात्र मन्त्रालय पाएको छ । माओवादीले थप दुईवटा मन्त्रालयमा दाबी गरिरहेको छ । मुख्यमन्त्री कार्कीले भने माओवादीलाई एक मन्त्रीसहित एक राज्यमन्त्री दिन तयार रहेको संकेत गरेका छन् । त्यसैले काठमाडौं पुगेर कसलाई के भाग लगाउने भन्ने विषयमा कार्कीले कांग्रेस नेता डा. शेखर कोइरालासँगै गठबन्धनका अन्य केन्द्रीय नेताहरूसँग छलफल गरिरहेको कांग्रेसनिकट स्रोतले जनाएको छ ।
यसो त, राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुन्जेलसम्म कोशीमा मन्त्रिपरिषद् विस्तार नगर्ने ‘गाइँगुइँ’ हल्ला पनि उस्तै छ । कांग्रेस नेतासमेत रहेका कृष्णप्रसाद सिटौला राष्ट्रियसभाको अध्यक्ष बन्ने तयारीमा रहेकाले अध्यक्ष चयनपछि वा अघि नै मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने भन्ने विषयमा कांग्रेसभित्र छलफल भने चल्दै आएको छ । यता मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार घिमिरे भने काठमाडौंबाट मुख्यमन्त्री कार्की फर्किएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताउँछन् ।
‘लगभग सबै तयारी पूरा भएको छ । काठमाडौंबाट मुख्यमन्त्री फर्किएपछि नै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ घिमिरेले भने ।