विराटनगर । राष्ट्रियसभा निर्वाचनको मत परिणामले ढिलाइ भएको कोशी प्रदेश सरकार सोमबारसम्ममा विस्तार हुने भएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री केदार कार्कीले आइतबार सहकर्मी दलहरूसँग छलफल गरेर सोमबारसम्ममा ३ जना फूल मन्त्री र एक राज्यमन्त्री नियुक्तिको तयारी गरेका हुन् ।
स्रोतले दिएको जानकारी अनुसार कांग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ । माओवादी केन्द्रबाट भने एक जना मात्रै मन्त्री बन्ने परिस्थितिमा उदयपुरका नारायण बुर्जा मगर र दुई मन्त्री बन्दा सङ्खुवासभाको राजेन्द्र कार्की थप नियुक्त हुने माओवादी स्रोतले बतायो ।
कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । २७ गते नियुक्त भएर २८ गते शपथग्रहण गरेका दिन नै उनले एमालेबाट रामबहादुर राना र कांग्रेसबाट शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।
कार्कीले कार्तिक १ गते नै विश्वासको मत लिए । उनलाई राप्रपाका ६ सांसद बाहेक सबैले विश्वासको मत दिएका थिए । आफू मुख्यमन्त्रीमा नियुक्ति भएको २० दिन पछि कार्कीले कार्तिक १७ गते माओवादीबाट गणेश प्रसाद उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमल प्रसाद जबगूलाई मन्त्री पदमा नियुक्त गरे । उनीहरुलाई नियुक्त गर्न लागेपछि एमालेबाट मन्त्री बनेका राना मगरले भने राजीनामा दिएका थिए ।
एमालेबाट मगरले राजीनामा दिएसँगै मन्त्रीमण्डल ४ सदस्यीयमा सीमित भयो । नियुक्त भएका मन्त्रीहरू राई, जबेगू र उप्रेतीले पनि लामो समय विना विभागीय बस्नु पर्यो । कार्कीले उनीहरुलाई मंसिर १७ गते जिम्मेवारी दिए । जसअनुसार राई सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन, जबेगूलाई भौतिक पूर्वाधार विकास र उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।