काठमाण्डाैं ।संगठन सुदृढीकरण र कार्यकर्ता तथा नागरिकका कुरा सुन्न नेपाली कांग्रेस वडामा केन्द्रित हुने भएको छ।’समुदायमा कांग्रेस अभियान’ घोषणा गरेर कांग्रेसले केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश र जिल्ला तहका नेताहरूलाई वडामा केन्द्रित गराउन लागेको हो।
समुदायमा गएर जनताका कुरा सुन्न यो अभियान सञ्चालन गरिएको महामन्त्री गगन थापा बताउँछन्। शनिबारदेखि माघ २६ गतेसम्म कांग्रेस वडामा केन्द्रित रहनेछ। समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने कांग्रेसको तयारी छ।
स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेल बताउँछन्। जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिने उनले बताए।
कांग्रेसले फागुन ७ गतेदेखि १० गतेसम्म गोदावरीमा महासमिति बैठक गर्दैछ। यो बैठकबाट पार्टीले लिने नीति तय हुनेछ। महासमिति बैठकअघि कांग्रेस वडा तहमा पुगेर सुझाव संकलन गर्ने तयारीमा जुटेको हो। कांग्रेसले वडा तहमा केन्द्रित हुनका लागि जिल्लाहरूमा समन्वय गर्न केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिले यही माघ १५ गतेदेखि मुलुकका ६ हजार ७ सय ४३ वडामा प्रतिनिधि खटाउनेछ।
‘केन्द्रीय पदाधिकारीहरू पनि अभियानका क्रममा विभिन्न ठाउँमा सहभागी हुनु हुनेछ,’ मुख्यसचिव पौडेलले भने, ‘यो अभियान वडामा केन्द्रित रहनेछ। जनताका कुरा सुन्ने अभियान भएकोले औपचारिक आसनग्रहण र मन्तव्यलगायत कार्यक्रम रहने छैन।’
कांग्रेसले शहिद दिवसका दिनदेखि वडा तहमा केन्द्रित भएर अभियान सञ्चालन गर्न लागेको छ। ‘उक्त दिन वडा तहमा मात्र कार्यक्रम हुनेछ। सम्बन्धित वडा र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि बाहेक कांग्रेसको केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आवद्ध केन्द्रदेखि स्थानीय तहसम्म नेता, कार्यकर्ता आफू क्रियाशील सदस्य रहेको वडामा पुग्नु पर्नेछ,’ उनले भने।
कांग्रेसले वडा तहमा श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा सहभागी हुन नेताहरूलाई निर्देशनसमेत दिएको छ। समुदायमा कांग्रेस अभियानकै क्रममा महामन्त्री थापा हुलाकी राजमार्गकेन्द्रित अभियानमा हुनेछन्। थापाले २१ जिल्लामा कार्यकर्ता र जनताका कुरा सुन्न खोजेका छन्।