पाँचथर । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि कोशीमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल गर्ने सहमति भएको छ।एमाले र राप्रपाले कोशीमा महिला र अन्यमा उम्मेदवारी दिएका एकअर्का पार्टीका उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेका हुन्।
एमालेकी उम्मेदवार रूक्मिणी कोइराला र राप्रपा उम्मेदवार उद्धव पौडेललाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको हो।राप्रपा कोशी प्रदेश संसदीय दल नेता भक्तिप्रसाद सिटौलाले राप्रपा र एमालेबीच तालमेलको सहमति भएको सेतोपाटीलाई बताए।‘राप्रपा र एमालेबीच कोशीमा तालमेलको सहमति भएको हो। सहमतिअनुसार राप्रपाका पौडेल र एमालेकी कोइरालालाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको छ,’ सिटौलाले सेतोपाटीसँग भने, ‘तालमेलको सहमति आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्छौं।’
नेकपा (एमाले) कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि राष्ट्रिय सभा चुनावमा एमाले र राप्रपाबीच तालमेलको सहमति भएको बताए। केन्द्रीय तहमै छलफल गरी तालमेलको निर्णय गरिएको नेताहरूले बताएका छन्। ‘कोशीमा तालमेल गर्न केन्द्रबाटै सहमति भएर आएको छ,’ उनले भने।
कोशीमा एमालेले भोजपुरका परशुराम अधिकारी र सुनसरीकी रूक्मिणी कोइरालालाई उम्मेदवार बनाएको थियो।कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार छन्।
कोशीमा सत्ता गठबन्धनको मतभार ५४७४ छ भने बाँकी दलको कूल मतभार ४६६१ छ।