ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाख रुपैयाँभन्दा बढी भेटी रकम संकलन भएको छ ।
पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम ३५ लाख रुपैयाँभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनुसार पुसमा मात्र कूल ३५ लाख २९ हजार रुपैयाँ भेटी रकम संकलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम संकलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ ।
संकलित यो रकम नेपाल बैंक लिमिटेड, सानिमा बैंक र एनएमबी बैंकमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए । संकलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम ८ करोड ७० लाख ५२ हजार ५ सय ४८ रुपैयाँ पुगेको छ ।