ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं-५ फाकुम्बास्थित पार्टीडाँडा माध्यमिक विद्यालयको आइटी एकेडेमी कक्ष फोडेर दर्जन बढी ल्यापटप र कम्प्युटर चोरी भएका छन्।
विद्यालयका शिक्षक शान्ता आङवुहाङका अनुसार गए राति आइटी एकेडेमी फोडेर कम्प्युटर ल्याबबाट १२ वटा ल्यापटप ४ वटा डेस्कटप सहितका उपकरण चोरी भएको हो।
चोरी भएपछि आइटी एकेडेमी कक्ष रित्तो भएको विद्यालयले जनाएको छ। शिक्षक आङवुहाङका अनुसार झण्डै साढे ११ लाख बढीको सामाग्री एकसाथ चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ।
चोरी भएका अन्य सामानको विवरण समेत संकलन भइरहेकोले चोरीबाट भएको क्षति रकम बढ्न सक्ने उनले जानकारी दिइन्। ह्युमन प्राक्टिस फाउण्डेसनको सहयोगमा सो विद्यालयमा आइटी एकेडेमी कक्ष स्थापना भएको थियो।