ताप्लेजुङ । विज्ञापन केन्द्र जस्तै बनेको पाथीभरा क्षेत्रका होर्डिङ बोर्ड हटाइने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले १५ दिन भित्र राख्नेले आफैं हटाउन निर्देशन गरेको छ । नहटाए प्रक्रियाअनुरुप हुने सार्वजनिक सूचनामा उल्लेख छ ।
काफ्ले पाटीदेखि मन्दिरसम्मका रुखहरुमा जथाभावी काँटी लगायतका फलामे वस्तु ठोकेर र अन्य माध्यमबाट बोर्डहरू राखिएका छन् । यो क्षेत्रका सडक आसपासका हरेकजसो रुखमा बोर्ड रहेका छन् । बोर्ड राख्नेमा सरकारी, गैरसरकारी निकायदेखि व्यवसायी र व्यक्तिसम्मका छन् । माघ ७ गते भित्र आफैं नहटाए प्रक्रियाअनुरुप अगाडि बड्ने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताए । प्रक्रिया अन्तर्गत कानुनी र व्यवहारिक दुवै हुन सक्ने उनले जनाएका छन् । समितिको यो निर्णयको संरक्षणकर्मीले स्वागत गरेका छन् । फुङलिङ नगरपालिका-५ सुकेटारका ओमप्रकाश राई काँटीले वनस्पतिमा गम्भीर असर पुर्याएको बेला स्वागतयोग्य निर्णय आएको बताउँछन् ।
एउटा सानो सन्देश लेखेर आफ्नो विज्ञापनका लागि यो क्षेत्रका हरेकजसो रुखमा बोर्डहरू राखिएका छन् । यस्ता बोर्ड कोशी प्रदेशका मोरङ, सुनसरी, झापादेखि ताप्लेजुङ र भारतको मेडिकल सम्मको विज्ञापन गर्नेहरू छन् ।