विराटनगर । ४ मंसिरको चुनावबाट गठन भएको कोशी प्रदेशसभाले एक वर्षको अवधिमा पाँचवटा सरकार बनाएको छ र प्रदेशको नाम राखेको छ । यस अवधिमा बजेटसँग सम्बन्धित विधेयक र केही अध्यादेशको प्रतिस्थापन विधेयकसमेत गरी ७ वटा विधेयक पारित गरेको छ ।
सरकार बनाउने र गिराउने खेलले संसदीय गतिविधि प्रभावित भए । पाँच वटा सरकार बन्दा ३ जना मुख्यमन्त्री र २१ जना मन्त्री बनेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि प्रदेशको नाम हो ।
२०७९ फागुन १७ गते प्रदेशसभाको बैठकले प्रदेशको नाम कोशी राखेको थियो । नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाका प्रदेशसभा सदस्यहरुले मतदान गरेपछि कोशीको पक्षमा दुई तिहाइ मत पुगेको थियो । तर पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै आएका विभिन्न जातीय संस्था र राजनीतिक दलहरुले कोशी नामकरणको विरोधमा आन्दोलन गरिरहेका छन् ।
आन्दोलनको क्रममा एक जनाको मृत्युसमेत भएको छ । नामाङ्कनपछि प्रदेशका सांसद र मन्त्रीलाई पहिचान पक्षधरले बहिस्कार अभियान चलाइरहेको छ ।