पाेखरा। गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले मञ्चमा उभिएर भाषण गरिरहेको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । दर्शक–स्रोता नै नभएको फुटबल मैदानतिर फर्किएर उनले भाषण गरिरहेको र त्यसमा एक जना पुरूषले मोबाइलले फोटो–भिडियो खिचिरहेको तस्वीर शुक्रबार रातिदेखि भाइरल छ ।
तस्वीर पोखरा रंगशालाको फुटबल मैदानमा शुक्रबार दिउँसो १२ बजेर १७ मिनेटमा खिचिएको हो । यो तस्वीर र सम्बन्धित समाचार शुक्रबार राति शिलापत्रबाट सार्वजनिक भएको थियो ।
के हो फोटोको कथा ?
पोखरा रंगशालामा शुक्रबार १४ औं कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८० को उद्घाटन कार्यक्रम थियो । त्यसमा आयोजक जिल्ला खेलकुद विकास समिति कास्कीले मन्त्री सिम्खडालाई प्रमुख अतिथि बनाएको थियो ।
मन्त्री सिम्खडा समयमै ११ बजे नै कार्यक्रमस्थल पुगेकी थिइन् । कास्कीका पाँचवटा पालिकाको मार्च पास भयो । मार्च पासपछि पाँचवटै पालिकाका विद्यार्थी फुटबल मैदानमा गएर बसे । त्यसपछि मन्त्रीले बेलुन उडाएर कार्यक्रमको उद्घाटन गरिन् । कार्यक्रमको उद्घाटनपछि नाँच देखाइयो । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, जिल्ला समन्वय समिति कास्की प्रमुख लिलाधर पौडेलले भाषण गरे ।
अन्य अतिथिले बोलेपछि मन्त्री सिम्खडाको पालो आयो । उनले बोल्न सुरू गर्दा १२ बजेको थियो । सिम्खडा बोल्नेबेला फुटबल मैदान खाली भइसकेको थियो । भलिबल, कबड्डी, मार्सल आर्टस् सुरू हुने थाहा पाएपछि खेलाडीहरू उठेर खेलस्थलतिर गए । खाना नखाएका खेलाडी खेल हुने थाहा पाएपछि मेसतिर निस्किए । अन्ततः मन्त्रीले खाली चौरअघि उभिएर भाषण गरिन् । मन्त्री बोल्दा अगाडि ४ जना पत्रकार थिए ।
मैदानको दक्षिणतिरको पोष्टमा आयोजक टिमकै सदस्य थिए । उनीहरू १५ सय मिटर दौडको तयारीमा व्यस्त थिए जसलाई मन्त्रीको सम्बोधनको कुनै वास्ता थिएन । मञ्चमा १० जना जति अतिथि थिए । मञ्चभन्दा पछाडि प्यारापिट छ । त्यहाँ पनि ८/१० जनामात्र बसेका थिए । मन्त्रीको भाषण सुन्ने मञ्चमा बसेका अतिथिमात्र थिए । तर, मन्त्री सिम्खडाले भने खेलाडीलाई ऊर्जा भर्ने भाषण दिइरहेकी थिइन् । मन्त्री सिम्खडाले पदक जित्न नसक्नेले हिम्मत नहारी अर्को वर्षको लागि प्रयास गर्नुपर्ने, खेलाडी अनुशासीत हुनुपर्ने बताइरहँदा मैदानमा सुन्नलाई कोही खेलाडी थिएनन् ।
यो तस्वीर भाइरल हुनुको अर्को कारण हो मन्त्रीको अघि उभिएर भिडियो खिचिरहेका पुरूष । ती पुरूष मन्त्री सिम्खडाका श्रीमान् जनक बिसी हुन् । बिसी श्रीमती सिम्खडाका स्वकीय सचिव हुन् । सुरूमा केही पत्रकारले उनी बोलेको खिचेका थिए । पछि पत्रकारले उनी बोलेको सबै खिचेनन् । स्वकीय सचिव बिसीले मात्र अन्तिमसम्म सबै सम्बोधन रेकर्ड गरेका थिए । यो तस्वीर खाली मैदानतिर फर्केर पछाडि रहेका अतिथि र आयोजकसामु मन्त्रीले खेलाडीलाई ऊर्जा भर्ने खालको भाषण दिइरहँदा खिचिएको हो ।
१२ वर्ष हुँदादेखि नै राजनीतिक आन्दोलनमा होमिएकी सिम्खडा बोल्न भने खासै जान्दिनन् । गत २५ साउनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २४ औं स्थापना दिवसमा गण्डकी प्रदेश समितिले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको थियो । मैत्रीपूर्ण फुटसलजस्तो सामान्य कार्यक्रममा उनी प्रमुख अतिथि थिइन् । समाचार उत्पादन, प्रसारणको दैनिकीबाट समय निकालेर मैदान उत्रिएका पत्रकारलाई उनले अन्तर्राष्ट्रिय स्तरसम्म पुगेर पदक जित्न शुभकामना दिएकी थिइन् ।
के भन्छिन् मन्त्री ?
यो तस्वीर भाइरल भइरहँदा मन्त्री सिम्खडा गृहजिल्ला गोरखा छिन् । उनले शिलापत्रसँग शनिबार साँझ कुरा गर्दै आफूले शुक्रबार बेलुका नै उक्त तस्वीर र समाचार हेरेको र गोरखाबाट पोखरा फर्किएपछि यसबारे राम्रोसँग जवाफ दिने बताइन् ।
उनले खेलाडीले भाषण सुनेर बस्न आवश्यक नरहेकाले खेलाडी नभएको विषयलाई ठूलो रूपमा नलिएको सुनाइन् । ‘त्यो खेलाडी राखेर भाषण गर्ने ठाउँ होइन । साइडमा मान्छे देखेको थिएँ । खेलाडी भाषण सुनेर बस्ने पनि होइन,’ मन्त्री सिम्खडाले भनिन्, ‘समाचार बनाउनेसँग पनि गुनासो, आलोचना छैन ।’
यो सानो कुरा भएको र धेरै टिप्पणी गर्न आवश्यक नरहेको मन्त्री सिम्खडाको भनाइ छ । कसैबारे सङ्कीर्ण सोच राखेर टिप्पणी गर्न नहुने उनले बताइन् ।