काठमाण्डाैं ।कोरिया रोजगारीका लागि गत १९ मंसिरमा भएको उत्पादन क्षेत्रको भाषा परीक्षाको विज्ञापन यसै वर्ष पानी जहाज निर्माणका लागि भएको भाषा परीक्षामा सहभागी भएकाहरू वञ्चित भए । ईपीएस कोरियाका अनुसार एकै वर्षभित्र दुई किसिमको रोजगारीका लागि परीक्षा दिन नपाउने नियमअनुसार पानी जहाजका लागि आवेदन दिएर परीक्षामा सहभागी भएकाहरू अहिले खुलेको उत्पादन क्षेत्रका लागि हुने परीक्षामा सहभागी हुन नपाएका हुन् ।
पानी जहाज कम्पनीका लागि मंसिर ५ सम्म विभिन्न चरणमा भाषाको लिखित परीक्षा भएको थियो । त्यसमा ३२ हजार युवाहरूले परीक्षा दिए । तर, अन्तिमसम्म करिब ३ हजार मात्र उत्तीर्ण भएका छन् । यसरी सो परीक्षामा सहभागी भएका करिब २८ हजार युवाहरूले अहिले उत्पादन क्षेत्रको परीक्षामा सहभागी हुन नपाउने भएपछि उनीहरू आन्दोलनमा उत्रिएका छन् । त्यति मात्र होइन, यसरी परीक्षा दिन नपाउनेमा परेका १८ जना युवाहरूले उच्च अदालत पाटनमा रिट हालेका थिए ।
२३ डिसेम्बरमा उत्पदान क्षेत्रका लागि गरिएकाे विज्ञापनकाे म्याद सकिएकाे छ । र एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका छन् । याेपटक काेरिया जानका लागि हालसम्मकै सबैभन्दा धेरैले आवेदन दिएका छन् ।
सो रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले निवेदक १८ जनालाई पनि उच्पादनमुलक क्षेत्रको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको थियो । यसपछि ईपीएस शाखाले ती १८ जनालाई मात्र सहभागी गराउने सूचना जारी गर्यो । तर यो समस्याबाट करिब २८ हजार प्रभावित थिए ।
उनीहरूले १९ मंसिरमा भएको विज्ञापन रद्द गरी आफूहरूले पनि आवेदन दिन पाउनुपर्ने माग राखी शुक्रबार बालकुमारी क्षेत्रमा आन्दोलन गर्नेक्रममा भौतिक योजनामन्त्री चढेको गाडी जलाएका छन् । त्यसमा प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले गोलीसमेत चलाएको छ । यसैमा परी दुइ जना युवाको मृत्यु पनि भएको छ ।