पाँचथर । नेपाली कांँग्रेस पाँचथरले पौष १३ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । जिल्ला सम्मेलनको पार्टी नेता डा. शेखर कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको पाँचथर काँग्रेस सभापति रुपनारायण जबेगुले जानकारी दिए । सम्मेलनमा कांँग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बे र केन्द्रिय सदस्य प्रदिप पौडेलले सम्बोन्धन गर्नेछन् । जिल्ला सम्मेलन जिल्ला समन्वय समितीको कर्वडहलमा हुनेछ ।
पार्टी विधान अनुसार वर्षेनी गरिनुपर्ने सम्मेलन भएकाले पनि बिधानत सम्मेलन गर्न लागिएकाे जनाइएकाे छ । सम्मेलनमा करिब १ हजार प्रतिनिधि सहभागी हुने, सम्मेलनको आयोजनाको तयारी पुरा भएको पाँचथर काँग्रेसले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । पार्टी सभापति जबेगुले पार्टी चलायमान राखिरहन सम्मेलनकाे ठुलो महत्व रहेको बताए । सम्मेलनमा सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरण र त्यसमा छलफल बहस गर्ने सभापति जबेगुले जानकारी दिए । प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, सहिद परिवार लगायतलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको जबेगुले जानकारी दिए ।
सम्मेलनलाई विगतको समीक्षा र आगामी कार्ययोजना प्रस्तुत गर्ने थलोको रुपमा प्रयोग गरिने जानकारी दिंदै सभापति जबेगुले कांग्रेस पाँचथरको नेतृत्वले पार्टीलाई प्रभावकारी रुपमा गाउँगाउँमा पुर्याउन सक्रिय भइरहेको बताए ।