पाँचथर । ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपमा पाँचथर फुटबल क्लब लाई सडनडेथमा ५-४ गोलले हराउँदै मोरङको सगरमाथा युथ क्लब फाइनल प्रवेश गरेको छ । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल सिधै टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पनि बराबरी भए पछि खेलको छिनोफानो सडनडेथबाट भएको थियो । सडनडेथमा मोरङ भाग्मानी बन्न पुग्यो ।
भानुजन माविको मैदानमा भएको खेलमा विजय सगरमाथाले सुरुवाती अग्रता लिए पनि दोश्रो हाफको इन्जुरी समयमा गोल खाएको थियो । खेलको २६ औँ मिनेटमा विशाल भण्डारीको गोल मार्फत अग्रता सगरमाथाले अग्रता लिएको थियो । दोश्रो हाफको इन्जुरी समयमा पाँचथरका निर्देशन राईले गोल गर्दै पाँचथरलाई खेलमा फरकाएका थिए । तर सडनडेथमा पाँचथरका खेलाडी चुक्दा फाइनल पुग्ने सपना पुरा हुन सकेन ।
सगरमाथा युथका बिशाल भण्डारी म्यान अफ दि म्याच हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे । यसअघिको सेमिफाइनलमा चक्रघट्टी फुटबल क्लब सुनसरी आठराई क्लब तेह्रथुमलाई १-० गोलले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। सोमबार पाँचथरलाई हराएको मोरङले फाइनलमा सुनसरीसँगको भेट पक्का गरेको छ। फाइनल खेल बुधबार हुनेछ।
कञ्चनजंघा सोसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको विजेता र उपविजेतालाई क्रमशः तीन लाख २ हजार ८० रुपैयाँ र एक लाख ५१ हजार ८० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।