पाँचथर । नेकपा (एमाले)ले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा-२०८०’को अन्तिम कार्यक्रम थियो, पाँचथरको याङवरक गाउँपालिका वडा नं. १ च्याङथापूमा आयोजित सन्देश सभा। उक्त यात्राका नेतृत्वकर्ता एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले यात्रा सञ्चालित पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम बिन्दू चिवाभञ्ज्याङमा यात्रा समापन गरेपछि पनि पूर्व निर्धारित कार्यक्रम भएकाले च्याङथापूमा एमालेले सन्देश सभा आयोजना गरेको थियो।
अघिल्लो दिन मङ्सिर ३० गते एमालेले फिदिममा वृहत सन्देश सभा गरेको थियो। तर पूर्वनिर्धारित भएकाले शीर्ष नेतृत्वको अनुपस्थितिमै पुस १ गते च्याङथापूमा आयोजित सभा उक्त यात्रालाई समष्टिमा स्पष्ट पार्ने प्रतिनिधि घटना थियो। चिवाभञ्ज्याङको कार्यक्रम सम्पन्न गरेर एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सचिवहरु सहितका नेता च्याङथापू आइपुगेका थिए। सबै लस्करै खानाको लाइनमा लामवद्ध भए। यही लाइनमा सभामा भाग लिन आएका कार्यकर्ताहरु पनि थिए।
धान खेतमा कार्यक्रमस्थल र भान्सा बनाइएको च्याङथापूमा एमालेका विभिन्न तहका नेताहरु, सांसद्हरु, अन्य जनप्रतिनिधिहरु आम नागरिकसँग घुलमिल भएर खाना खाने, तस्वीर खिचाउने, भिडियो बनाउनेजस्ता काममा ब्यस्त देखिन्थे। यहाँ जनतातर्फ फर्किएर सहकार्य गर्ने, सरल जनजीवन नै अवलम्बन गर्ने तथा कार्यकर्तालाई सहज पहुँच दिने काम एमाले नेताहरुले गरेको देख्न सहजै सकिन्थ्यो। एमाले कोशी प्रदेश कमिटीका उपाध्यक्ष टीकाराम चेम्जोङ, याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या सहितका नेताहरु दर्शक दीर्घामै बसेर कार्यक्रममा सामेल थिए।
एमाले केन्द्रीय सदस्य एवम् पाँचथर प्रदेशसभा १(१)का इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङको अध्यक्षता, च्याङथापूकै वासिन्दा एवम् एमाले पाँचथरका उपसचिव नरबहादुर गुरुङको सञ्चालन तथा उपमहासचिव ज्ञवालीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल याङवरकका नेता बिमल माङ्मु सहितका युवाहरु, नेपाली काँग्रेसका नेता इन्द्र बेघा लगायत एमालेमा प्रवेश गरे।
कार्यक्रमकमे समापनमा एमाले केन्द्रीय सदस्य एवम् पाँचथर प्रदेशसभा १(१)का इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङ यात्राका निश्कर्ष सुनाउँदै मध्यपहाडको विकास, बसाइँसराई रोकथाम, सम्भावनाको खोजी, ब्याप्त निराशाको निवारण तथा सेवा प्रवाहको सुधारमा पार्टी केन्द्रीत हुने निश्कर्ष सुनाए। उनले देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुमा मध्यपहाडी संकल्प यात्राले उत्साहित बनाएको बताएका छन् । समापन सत्रमा बाेल्दै नेता नेम्बाङले भने, ‘संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ । देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुको मनोबल उच्च बनाएको छ ।’संकल्प यात्राले मुलुकमा ब्याप्त निराशा चिर्न सक्ने शक्ति एमाले भएको समेत पुष्टि गरेको नेम्बाङले बताए । तर गठबन्धन सरकारका कारणले मुलुक चिन्ताजनक अवस्थामा पुगेको बताए । ‘देशको राजनीति अलमलमा छ, देशको समय र जनताको आयु खेर गएको छ’, नेता नेम्बाङले भने