झापा । बन्द आह्वानका क्रममा इलामको रोङ गाउँपालिका ४ किटेनीस्थित मेची राजमार्गमा पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट किराँती भन्ने अन्जेश राईलाई प्रहरीले पक्राउ गरेको छ ।
बुद्धशान्ति ४ का राईलाई जिल्ला प्रहरी कार्यालय ईलाम र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो ३ बजे अर्जुनधारा ११ स्थित नयाँ बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुले बताए । उनले त्यसबारे विस्तृत जानकारी आज सार्वजनिक गरिने जनाएका छन् ।
किराती प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिका बुद्धशान्ति संयोजक, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ, अभियानअन्तर्गत नागरिक युवा दस्ताका मेचीनगर संयोजक भएको बुझिएको छ ।
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आव्हानमा कोशी प्रदेशमा यातायात बन्दको अवज्ञा गरेको भन्दै शनिबार पराल बोकेको मे १ ज ११४० नम्बरको पिकअप गाडीमा आगजनी गरिएको थियो ।