गिरिराज बाँस्कोटा । नेकपा (एमाले)को समृद्धिका लागि संवाद यात्राले नेपाल–भारतको सिमानामा रहेको चिवाभञ्ज्याङ पुनः चर्चामा आएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु रहेको यो ठाउँ एमालेको अभियान टुङ्ग्याउने स्थान भएकाले धेरैले चासो र चर्चा गरेका थिए ।
भारतको सिक्किम र पाँचथरको याङवरक गाउँपालिकासँग सीमा जोडिएको यो ठाउँको चर्चा लामो समयदेखि भए पनि नेपालतर्फ विकास हुन सकेको छैन भने नाका सञ्चालनमा ल्याउनका लागि पहल पनि हुन सकेको छैन । स्थानीय सरकारले माथिल्लो तहमा केही पल्ट अनुरोध गरे पनि संघीय सरकारबाट नाका खुलाउन पहल भएको छैन ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङको सम्बोधनमा नाका खुलाउने तथा यो क्षेत्रको विकास गर्ने विषयमा केही पनि बोलेनन् । २०७५ माघमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा तत्कालीन नयाँ शक्ति पार्टीले यहाँबाट अन्तिम बिन्दु झुलाघाटसम्मको यात्रा गरेको थियो । यात्राकै अवसरमा उनले पूर्वाधार विकास र नाका खुलाउन पहल गर्ने बताएका थिए ।
यति मात्र होइन, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ जेठमा यो क्षेत्रको भ्रमण गर्दै व्यावसायिक नाका खुलाउन पहल गर्ने बताएका थिए । तर, यो नाका खुलाउन पहल भएको देखिँदैन । मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु भएकाले बेलाबेलामा यो ठाउँ चर्चामा आउने गर्छ । ३ हजार १ सय ३९ मिटर उचाइको यो ठाउँ पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । भारतको सिक्किमबाट पनि सडक आइपुगेकाले यो नाका सञ्चालन गर्न आवश्यक रहेको बताइन्छ ।
‘व्यावसायिक, पर्यटकीय हिसाबले पनि यो नाका महत्त्वपूर्ण छ । नाका सञ्चालन गर्न सके यो क्षेत्रका लागि निक्कै महत्त्वपूर्ण रहनेछ,’ स्थानीय बासिन्दा डिल्ली ओलीले भने, ‘यसका लागि माथिल्लो सरकारले पहल गर्नुपर्छ ।’
सीमावारिपारि रोटीबेटीको सम्बन्ध छ । भाषा, संस्कृति सीमावर्ती क्षेत्रमा मिल्छ । अहिले पनि दुवैतर्फ बिहेवारी हुने गरेको छ । यहाँबाट उता जाने र यता आउने गरिन्छ ।
मन्त्रीलगायतका उच्चपदस्थ अधिकारी चिवाभञ्ज्याङ पुग्छन् तर उनीहरूको केवल घुम्ने यात्रा मात्र हुने गरेको छ । यहाँको विकासका लागि ठोस काम हुन सकेको देखिँदैन । सशस्त्र प्रहरीको बीओपी राखिएपछि सरकारी उपस्थिति देखिन्छ । तर, बीओपी क्याम्प आवागमन हुने सडकछेउमा छैन । तर, भारततर्फ सिक्किम प्रहरी र सीमा सुरक्षा बलको पोस्ट सडकमै छ ।
सिक्किम यही बाटो भएर तीर्थयात्रीलाई ताप्लेजुङमा रहेकी पाथिभरा माताको दर्शन गराउन चाहन्छ । त्यसो त सिक्किमका मुख्यमन्त्रीले चिवाभञ्ज्याङनजिकको भारततर्फको उत्तरे बजारलाई अन्तर्राष्ट्रिय बजार बनाउने घोषणा गरेका छन् ।
नेपालतर्फ च्याङथापु बजार २६ किलोमिटरमुनि छ । यो नाका खुलाउन सके पर्यटन क्षेत्रमा ठूलो फाइदा पुग्ने च्याङथापु–फलैँचा सरोकार समितिका अध्यक्ष शरद अधिकारी बताउँछन् ।
नाकासँगै नेपालतर्फ पूर्वाधारको विकासका लागि पर्याप्त काम हुन सकिरहेको छैन । यो नाकामा मध्यपहाडी लोकमार्गको ट्र्याक २०६९ सालमा पुगेको थियो । त्यतिबेला भारततर्फ उत्तरे बजारसम्म सडक बनेको थियो । सिक्किम सरकारले २०७७ सालमा यहाँसम्म सडक ल्याएको छ । दुवैतर्फ सडक पुगेकाले भन्सार कार्यालय राखेर नाका सञ्चालन गर्नुपर्ने माग यस क्षेत्रका स्थानीय बासिन्दाहरूको माग छ ।
ठेकेदारले कालोपत्र गर्ने काम नै गरेनन्
बेलाबेला चर्चामा आइरहने चिवाभञ्ज्याङसम्मको सडक कालोपत्र गर्ने काममा ठेकेदारले चरम लापर्वाही गरेको छ । थर्पुको दारिम्बा भन्ने ठाउँबाट चिवाभञ्ज्याङसम्मको ५० दशमलव ६४ किलोमिटर सडक कालोपत्र गर्ने काममा ढिलाइ भएको छ । दोस्रोपल्ट थपिएको म्याद सकिँदा पनि प्रगति १५ प्रतिशत मात्र रहेको मध्यपहाडी लोकमार्ग फिदिम आयोजना कार्यालयका प्रमुख वीरेन्द्र यादवले बताए । ‘काम गर्छु भन्न छाड्या छैनन् तर हुनुपर्ने गतिमा कामै भएको छैन,’ उनले भने ।
तीन प्याकेजमा ठेक्का लगाइएको थियो । कुनै किसिमको अवरोध नहुँदा पनि निर्माण कम्पनीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य प्रभावित भएको मात्र छैन, यो क्षेत्रका बासिन्दाले सडक यातायातमा ठूलो सास्ती पनि खेपिरहेका छन् ।
२०७७ साल माघमा पाँचथरको उत्तरी च्याङथापु बजारमा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको कालोपत्र गर्ने काम सुरु गर्दा यो क्षेत्रका बासिन्दा निकै उत्साहित थिए । निकै तामझाम गरेर चिवाभञ्ज्याङ–थुर्प खण्डको कालोपत्र गर्ने कामको शिलान्यास गरिएको थियो ।
१ अर्ब ४७ करोड १ लाख २० हजार ५ सय १० रुपैयाँमा ठेक्का लागेको थियो । राष्ट्रिय गौरवको आयोजनाको काम नै प्रभावित भएको छ । रोशन शिवशक्ति जेभी, सन्तोषी शिवशक्ति जेभी र रोशन शिवभक्ति जेभी गरी तीन प्याकेजमा तीन निर्माण कम्पनीले ठेक्का पारेका थिए । तर, सडक कालोपत्र गर्ने काम भने अत्यन्त सुस्त भएको छ ।