झापा। ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र ब्राउनसुगर काठमाडौं पठाउनेक्रममा दुई जना बिर्तामोडमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका १२ स्थित कालीझोडा बस्ने ३० वर्षीय राजु बिश्वकर्मा र इलाम नगरपालिका १ बस्ने २० वर्षीय दिपक दाहाल रहेका छन् ।
हिजो साँझ ७ बजे बिर्तामोड १ स्थित पश्चिम बसस्टेन्डमा हायस गाडीबाट काठमाण्डौ ज्याकेट पार्सल गर्नेक्रममा उनीहरु पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले हायस गाडीबाट काठमाण्डौ ज्याकेट पार्सल गर्न आएका बिश्वकर्मालाई शंका लागेर चेकजाँच गरेको थियो । उनले पार्सल गर्न लागेको ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र लुकाई छिपाई राखेको २८ ग्राम ३७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई पक्राउ गरी सोधपुछ गर्दा उक्त सामान र ज्याकेट दाहालको हो भनी बताएपछि दाहाललाई समेत खोजतलास गर्ने क्रममा बिर्तामोड १ मा फेला पारिएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।