गिरिराज बाँस्काेटा
पाँचथर–भारतको पिथौरागढसँग सीमा जोडिएको बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको संकल्प यात्रा १८औँ दिन भारतकै सिक्किमसँग सीमा जोडिएको पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको छ । यात्रा टुंग्याउँदै एमाले अध्यक्ष केपी ओलीले अहिलेको गठबन्धनले निराशा फैलाएकोमा यो यात्रा आशा जगाउन सफल भएको बताए । यात्राले जनतालाई पुनर्जागृत बनाएको र अरु पार्टीलाई पनि सकारात्मक सन्देश दिएको तर्क उनले गरे ।
अघिल्लो दिन फिदिममा जोडजाड मिलाएर सरकार बनाउन हैरान भएकाले एकल बहुमत आवश्यक रहेको बताएका ओलीले आइतबार चिवाभञ्ज्याङमा सरकारले अराजकता फैलाएको बताए । यात्रा अवधिभर सरकारलाई निसाना साँधेका ओलीले चिवाभञ्जाङमा पनि त्यस्तै अभिव्यक्ति दिए । उनले देश बनाउन सक्ने पार्टी एमाले मात्र भएको दाबी गरे ।
संकल्प यात्रा अवधिभर ओलीले फिदिमबाट १ सय किलोमिटर टाढा चिवाभञ्ज्याङ जान पहिलोपटक हेलिकोप्टर प्रयोग गरे । त्यसअघि ओलीले सडकमार्गबाटै मध्यपहाड छिचोलेका थिए । एमालेका केही पदाधिकारीहरू पनि हेलिकोप्टरबाट चिवाभञ्ज्याङ पुगे । तर अरू नेताहरू गाडीमै चिवाभञ्जयाङ पुगेका थिए ।
सीमानजिकै उभिएर ओलीले भने, ‘सबैको निष्कर्ष देशको राजनीति अहिलेजस्तो अलपत्र भएर चल्नु हुँदैन भन्ने छ । देशको राजनीतिले सही बाटो लिनुपर्छ । राष्ट्रको समय खेर गइरहेको छ । एउटा पिँढीको समय खेर गइरहेको छ । यो स्थितिबाट जोगाउन यो संकल्प यात्राले असाधारण योगदान गरेको छ ।’
अनि ओलीले मध्यपहाडी यात्रा सफल भएको निष्कर्ष सुनाए । ‘एमाले चुनौतीको सामना गर्न सक्छ भन्ने अर्को दृष्टान्त यो यात्रा हो । यो यात्रा सफल भएको छ,’ उनले भने, ‘विभिन्न खालका विभिन्न प्रकारका अवाञ्छित चिन्तन, विचार, प्रवृत्ति, क्रियाकलापहरूलाई जवाफ दिएको छ ।’ उनले यात्राका क्रममा आफूले पाएका मागपत्र, ज्ञापनपत्रलगायत सम्बोधनका लागि पहल गर्ने पनि बताए ।
नेपालका २६ जिल्ला छुने १ हजार ८७९ किलोमिटर लामो पुष्पलाल (मध्यपहाडी) लोकमार्ग भएर मध्यपहाडको यात्रा गरेको एमालेले विभिन्न जिल्लामा भेटघाट, सभा गरेको थियो । सम्बन्धित क्षेत्रका पार्टी कार्यकतामा अभियानले उत्साह थपेको देखिएको छ ।
‘नेपालका राजनीतिक दलहरू चुनावको बेला मात्र गाउँ आउँछन् भन्ने धारणा बदलिएको छ,’ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘हामीले आफ्नो नीतिले ३६ महिना मात्र काम गरेका छौँ । अरु बेला अन्यसँग मिल्नुपर्दा समय बर्बाद भयो । समृद्धिका लागि एमालेको एकल बहुमतको सरकार चाइएको हो भन्ने यसको सन्देश हो ।’
एमालेले संकल्प यात्रा सफल बनाउन ठूलो संख्यामा नेताहरू परिचालन गरेको थियो । ओली आफैँ पनि खटिएकाले मध्यपहाडी क्षेत्रमा एमाले थप मजबुत बन्ने धेरैको विश्लेषण छ । अाेलीले ठाँउ ठाँउमा फरक फरक गतिविधि गरेका थिए ।
‘एमालेको तर्फबाट सिङ्गो मुलुकले ठूलो उपलब्धि हासिल गरेको छ । मध्यपहाडी क्षेत्रको विकास निर्माणको अवस्था, जनसमुदायको सामाजिक, आर्थिक, शैक्षिक अवस्था, सामाजिक सम्बन्धजस्ता तमाम कुराको स्थलगत रूपमा जानकारी लिएका छौँ,’ एमाले सचिव योगेश भट्टाई भन्छन्, ‘विकासको मुख्य प्राथमिकता के रहेछ भन्ने बुझेका छौँ । बसाइ-सराइको अवस्थाका बारे पनि अध्ययन गरेका छौँ । एमाले कुनै पनि बेला सरकारमा आउँछ । त्यो बेला तमाम हामीले देखेका, भोगेको, छलफलबाट आएका विषयलाई सम्बोधन गर्छौं ।’
यात्राले अन्य दललाई पनि जनतासँग जोडिन सन्देश दिएको एमाले सचिव पद्मा अर्याल बताउँछिन् । ‘टोलटोलमा, गाउँगाउँमा जनता जम्मा भएर स्वागत गर्ने, कुरा राख्ने, छलफल गर्ने काम भएको छ । सिधै जनतासँग जोडिने काम भएको छ,’ उनले भनिन्, ‘अरु राजनीतिक दललाई पनि तल जनतासम्म जानुपर्छ भन्ने सन्देश दिएको छ ।’
युवासंघका अध्यक्ष क्षितिज थेबे यो यात्राले पुराना दलसँग जनता निराश छन् भन्ने भाष्य गलत सावित गरेको तर्क गर्छन् । ‘पुराना दलप्रति जनताको निराशा छाएको छ भन्ने आरोप थियो । एमालेलाई पनि त्यही डालोमा हालिएको थियो । यो यात्राले एमालेले आफूलाई अपडेट गर्ने, जनताद्वारा अनुमोदित पार्टी हो भन्ने सन्देश दिएको छ,’ उनले भने ।
अन्य क्षेत्रमा सहज देखिए पनि कोशी प्रदेशमा भने यात्राका क्रममा केही अवरोध हुन सक्छ कि भन्ने कतिपयको आशंका थियो । कोशी नामकरणविरुद्ध संघर्षमा रहेका पहिचानवादीहरूले बन्दको आह्वानसमेत गरेका थिए । तर, यात्रा सफल भएको एमालेका नेताहरूले बताएका छन् ।
‘टोल टोलमा, गाँउ गाँउमा जनताहरु जम्मा भएर स्वागत गर्ने, कुरा राख्ने, छलफल गर्ने काम भएको छ । सिधै जनतासँग जोडिने काम भएको छ’ सचिव पद्मा आर्यालले भनिन् ‘जनताहरुले अब एमालेकोमात्र भर रहेको बताएका छन् । अरु राजनीतिक दललाई पनि तल जनतासम्म जानु पर्छ भन्ने सन्देश दिएको छ ।’