खलङ्गा (जाजरकोट) । जाजरकोट सदरमुकाम खलङ्गास्थित कस्तुरी सहकारी स्कुलको चौरमा २० वर्षीया विमला तिरुवा चार दिनको बच्चा लिएर बसेकी छन् । प्रोटिनयुक्त खानेकुरा र विशेष स्याहारसुसार चाहिने बेला उनले दुई दिनदेखि खाना खाएकी छैनन् ।
चौरमा राखिएको टेन्टबाट निस्किएर बाहिर आएकी उनी मंगलबार अपराह्न श्रीमान् रुपेश तिरुवाले ल्याइदिएको समोसा खाँदै थिइन् । ‘खाना किनेर खानलाई होटल खुलेको थिएन, यहाँ पकाउनलाई सामान छैन’, विमलाले भनिन्, ‘ज्यान अहिलेसम्म जोगिएकै छ भनेर चित्त बुझाउने त होला !’राति–राति आफ्नालाई मात्र राहत बाँडिएको गुनासो भूकम्प पीडितहरुले गरेका छन् । राहत वितरणमा विभेद गरेको भन्दै केही युवाले भेरी नगरपालिका–४ को वडा कार्यालयमा ताला लगाइदिएका छन् ।सत्केरी विमलाले तातो पानी समेत खान पाएकी छैनन् । शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सदरमुकाम खलङ्गामा अहिले पानीको समस्या छ । ‘नर्मल पानी त छैन, तातो झन् कहाँबाट ल्याउनु ?’, उनले प्रश्न गर्दै भनिन्, ‘धन्न उहाँ (श्रीमान्) ले बोतलको पानी चाहिँ कताबाट ल्याउनु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा उपचार गरेर फर्किएपछि उनी जाजरकोटको कुशे गाउँपालिकास्थित घर जानुपर्ने थियो । तर, भूकम्प गएपछि श्रीमान् रुपेश, आमा र बच्चासहित विमला सदरमुकाम खलङ्गामा अलपत्र परिन् ।कुशेमा रहेको घर पनि भूकम्पले भत्काइसक्यो । ‘घरसम्म जान पाए खान त केही पाइन्थ्यो कि भनेर पनि सोच्यौं’, उनले भनिन्, ‘तर, जाने बाटो पनि ठाउँ–ठाउँमा भत्किएको रहेछ ।’
जबरजस्ती जाँदा रक्तश्राव भए उपचार गर्नलाई गाउँमा राम्रो अस्पताल छैन । ‘केही भइहाल्यो भने फेरि यहीँ आइहाल्नुपर्छ’, उनले सुनाइन्, ‘बरु जसोतसो यहीँ बस्नुपर्छ भनेर चौरमा सुतेका छौं ।’
उनीसँगै भेरी नगरपालिका–४ की २५ वर्षीया गौरी विक एउटै त्रिपालमा बसेकी छन् । हातमा ८ दिनको बच्चा च्यापिरहेकी उनको पनि समोसाका भरमा दिन कटिरहेको छ । ‘हिजो डाक्टरहरुको टोली आएर नामहरु सोध्नु भएको थियो, अरु कोही आउँदै सोध्दै गरेर जान्छन्’, उनले भनिन्, ‘तर, खानलाई केही छैन, बस्नलाई त झन् के कुरा गर्ने !