पाँचथर । शुक्रबार साँझ कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त एमाले नेता हिक्मतकुमार कार्कीले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
कार्कीले मन्त्रीमा चार र राज्यमन्त्रीमा एकजना नियुक्त गरेसँगै कोशी मन्त्रिपरिषद् पाँच सदस्यी बनेको हो। मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त भएका छन्।
कार्कीले मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा ऊर्जा र स्वास्थ्य, कार्कीलाई भौतिक पूर्वाधार विकास, राईलाई वन वातावरण तथा पर्यटन र उद्योग, भूमि व्यवस्था तथा कृषि मन्त्रालयको जिम्मेवारी तोकेका छन्। सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ।
मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफूसँगै राखेका छन्। नियुक्त भएका सबै मन्त्री एमालेका हुन्।
एमालेसँग सहकार्य गर्दै आएको राप्रपाले मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको छ।
मुख्यमन्त्री कार्कीले पनि अब विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन्।
सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत एमाले संस्दीय दलको नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न बिहीबार परमादेश दिएको थियो।
सर्वोच्चको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गरेका हुन्।
९३ सदस्यीय कोशी प्रदेशसभामा सबैभन्दा बढी उपसभामुखसहित ४० सदस्य एमालेका छन्।
अब कार्कीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ। त्यो अवस्थामा उपसभामुखले मतदान गर्न नपाउने भएकोले कार्कीको पक्षमा ३९ सांसद मात्रै हुन सक्छन्।
प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन्।