विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षका लागि चार जना दाबेदार देखिएका छन् । असोज १२ र १३ गते एमालेको कोशी प्रदेश अधिकवेशन हुँदैछ । अधिवेशनबाट अध्यक्ष बन्नका लागि चार जना नेताले दाबेदार देखिएका हुन् ।
अध्यक्षको दाबेदारमा वर्तमान अध्यक्ष तुलसी न्यौपाने, एमाले पूराना नेता घनश्याम खतिवडा, केन्द्रीय सदस्य तथा धनकुटा इञ्चार्ज विनोद ढकाल र प्रदेश कमिटी उपाध्यक्ष टीकाराम चेम्जोङ छन् ।
वर्तमान अध्यक्ष न्यौपाने पूर्व प्रदेश सांसद तथा मन्त्री हुन् । ढकाल दुई पटक मोरङ जिल्लाको नेतृत्व चलाएका व्यक्ती हुन् । चेम्जोङ धनकुटाका पुराना नेता तथा सांसद हुन् । पूर्व प्रतिनिधिसभा सदस्य खतिवडा एमालेका पूराना नेताको सूचीमा पर्छन् । दोबदार चार जना देखिएपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई ‘लाइन’ दिएका छैनन् ।
अध्यक्षका दाबेदार वर्तमान अध्यक्ष न्यौपाने एमालेमा ओली समूहमा थिए । गुटको राजनीतिमा टसल भएपछि उनी माधवकुमार नेपालको लाइनमा बसे । नेकपा एमाले विभाजन अघि उनी पून ओली गुटमा फर्किएर केही समय कोशी प्रदेशको मन्त्री पनि भए ।
पूर्व सांसद खतिवडा पनि सुरुमा माधवकुमार नेपाल समूहमा थिए । पछि उनी ओली गुटमा बसे । ४७ वर्षदेखि एमालेको राजनीति गरेका उनी मदन भण्डारीसँग बसेर पनि पार्टीको काम गरेका थिए ।
छैटौं जिल्ला अधिवेशनमा मोरङ अध्यक्षमा विनोद ढकाल निर्वाचित हुँदा माधव नेपाल लाइनबाट उठेका खतिवडा पराजित भएका थिए ।
दुई कार्यकाल मोरङको अध्यक्ष चलाएका ढकाल भने ओली गुटको पूराना नेता हुन् । तर पछिल्लो समय उनको सम्बन्ध ओलीसँग तिक्ततापूर्ण रहेको उनी निकट नेताहरु बताउँछन् । उनी निकट स्रोतका अनुसार ढकाल पछिल्लो समय विद्या भण्डारीको समूहमा छन् । उनले अध्यक्षमा लविइङ गरेपनि सार्वजनिक रुपमा दाबी प्रस्तुत गरेका छैनन् । धनकुटाबाट निर्वाचित संविधानसभा सदस्य चेम्जोङ ओली निकट हुन् ।
अधिवेशन नजिकिदै गर्दा नेताहरुले आन्तरिक छलफल र भेटघाट बढाएका छन् । पछिल्लो समय नेताहरुको भेटघाट दुई लाइनमा केन्द्रीत छन्, पहिलो ओली, दोस्रो विद्या भण्डारी ।
तत्कालिन एमालेमा ओली समूहलाई बलियो बनाउन भण्डारीको पनि भूमिका छ । मदन भण्डारी फाउन्डेशन मार्फत ओली गुटको राजनीति फस्टाउँदा भण्डारीको पूर्ण सहयोग थियो । तर प्रदेश अधिवेशनको पूर्व संन्धयामा लाइन देखिन थालेको एमाले प्रदेश कमिटीका एक सदस्यले बताए । ति नेताका अनुसार कोशी प्रदेश अध्यक्ष ओली र पूर्व उपाध्यक्ष भण्डारीका लागि प्रतिष्ठाको विषय बनेको छ । किनकी दुवै नेता कोशी प्रदेशका हुन् । ‘अहिले तत्काल दुवै नेताले कसैलाई लाइन दिएका छैनन्, तर विस्तारै लाइन खुल्दैछ,’ ति नेताले भने,‘अधिवेशनसम्म स्पष्ट लाइन देखिने अवस्था छ ।’
नेताहरुका अनुसार कोशी प्रदेशमा विद्यादेवी भण्डारीको लाइनको टिम शेरधन राईले बनाइरहेका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओलीबाट पेलिएको महसुस गरेको दश बुुदे समूहका नेताहरु पनि भण्डारीसँग नजिक देखिएका छन् । अध्यक्ष ओलीबाट पेलिएको महसुस गरेका ढकालपनि भण्डारी लाइनमा देखिन थालेको ति नेताको दाबी छ । तर ढकालले भने बोलेका छैनन् । उनी अध्यक्षमा उठ्ने तयारीसहित अभियानमा छन् । ‘उहाँले सार्वजनिक रुपमा अहिले नबोल्ने भन्नु भएको छ, तर तयारी अध्यक्षमा उठ्ने छ,’ उनी निकट एक नेताले भने,‘ केन्द्रीय नेतृत्वसँग पनि कुरा भइरहेको छ ।’
नेकपा एमालेका नेता घनश्याम खतिवडाले प्रदेश अध्यक्षमा उठ्ने आफ्नो इच्छा रहेको बताए । ४७ वर्षदेखि पार्टीको राजनीति गरेको बताउँदै उनले भने,‘ प्रदेशको नेतृत्व गर्न योग्य छ, अधिवेशन हलमा दाबेदारी प्रस्तुत गर्छु ।’ उनले आफू कुनै लाइन भन्दा पनि एमालेलाई एक ढिक्का बनाउने लाइनमा उम्मेदवार बन्न चाहेको बताए ।