काठमाणडाैं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) ले कोशी प्रदेश सरकारलाई समर्थन गर्ने भएको छ ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्ष र राप्रपाका नेताहरूबीच भएको छलफलमा राप्रपा कोशी प्रदेश सरकारलाई समर्थन गर्न सहमत भएको हो ।
सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारलाई समर्थन गर्ने भएपछि राप्रपाले प्रतिनिधिसभाअन्तर्गतको एउटा समितिको नेतृत्व पाएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो दल माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समिति राप्रपालाई दिएका हुन् ।
कोशी प्रदेश सरकार गठनमा सत्ता गठबन्धनलाई सहयोग गर्ने सहमतिपछि पूर्वाधार समिति राप्रपालाई दिने सहमति भएको माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए । सापकोटाले भने, ‘कोशी प्रदेशमा राप्रपा सत्ता गठबन्धनलाई सहयोग गर्न तयार भएपछि प्रतिनिधिसभाको एउटा सभापति दिन सत्ता गठबन्धन सहमत भएको हो ।’
राप्रपाले उक्त समितिको सभापतिमा सांसद दिपक सिंहलाई उम्मेदवार बनाएको छ । सांसद सिंहको प्रस्तावक माओवादी केन्द्रका सांसद माधव सापकोटा आफैँ बसेका छन् । यसअघि संसदीय समितिको भागवन्डा हुँदा विकास समितिको सभापति माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रले उक्त समितिको सभापतिमा सापकोटालाई उम्मेदवार बनाउने निर्णय पनि गरेको थियो ।