काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन प्रदेश सभा बैठक सञ्चालनको जिम्मेवारी पाएकी उपसभामुख सृजना दनुवार ‘अचानक बिरामी’ परेकी छिन् । विश्वासको मत लिने दिन नेकपा एमालेले उपसभामुख दनुवारलाई अनुपस्थित गराउने आशङ्काबी उपसभामुख बिरामी परेको भन्दै उपचारका लागि काठमाडौँ हिँडेकी हुन् ।
बैठक छलेर उपसभामुख दनुवार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी छन् । कोशी प्रदेश सभा सचिवालयमा बैठकमा प्रस्तुत गरेको पत्रमा उनले भनेकी छन्, ‘मेरो स्वास्थ्यमा अचानक समस्या उत्पन्न भई उपचार गर्न प्रदेश बाहिर जानु पर्ने भएकोले मिति २०८०।०५।०४ गते र तत्काल सो भन्दा पछिका सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको छु ।’
दनुवारले आफ्नो अनुपस्थितिमा कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन २०७५) को नियम ११ को उपनियम (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न यस अघि नै सभामुखबाट मनोनीत चार जना सदस्यमध्ये नेपाली कांग्रेसका इस्माइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी छन् ।
‘माननीय मालती कुमारी लिम्बुले मिति २०८० साल भाद्र १ गते नै आगामी केही बैठकमा अनुपस्थित हुने सूचना दिई सक्नु भएको छ भने वर्णानुक्रममा पहिलो क्रममा रहनु भएका माननीय अम्बर बहादुर विष्टले पनि २०८० साल भाद्र १ गते नै सोही ब्यहोराको सूचना दिनु भएकोले मनोनीत गर्दाको देहायको क्रमसङ्ख्या र वर्णानुक्रमको हिसाबले पनि तपाई दोस्रो क्रम सङ्ख्या र दोस्रो वर्णानुक्रममा रहनु भएको देखिएको ले म उपस्थित नहुन्जेल सम्म तपाईंले प्रदेश सभा नियमावली को नियम ११ को उपनियम २ बमोजिमको अधिकार प्रयोग गर्ने गरी चालु प्रदेश सभाको अधिवेशनका बैठकमा उपस्थित भई बैठकको अध्यक्षता गर्न हुन कोशी प्रदेशसभा सचिवालय मार्फत यो सूचना दिएको छु,’ उनले पत्रमा भनेकी छन् ।