विराटनगर । कोशी प्रदेशको नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय छ । बहुमत दाबी गर्न दिएको समयभित्र सत्तारुढ गठबन्धन दलले मुख्यमन्त्री दाबी पेस गर्ने तयारी गरेकाे छ ।
कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद मात्रै हुने भएपछि गठबन्धनले बहुमत ४७ सांसद संख्या पुर्याउन सभामुखलाई राजीनामा दिन दबाब दिइरहेकाे छ ।
बहुमत पुर्याउन सभामुख बाबुराम गौतमले राजीनामा दिने सहमति भएकाे माओवादी कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । ‘आजै सभामुखको राजीनामा आउँछ’, आङ्बोले भने, ‘आजै मुख्यमन्त्रीको दाबी गर्नेछौँ ।’
यसअघि गाैतमले सभामुखको हैसियतमा रहँदारहँदै मुख्यमन्त्री उद्धव थापाको दाबीपत्रमा हस्ताक्षर गरेपछि सर्वोच्च अदालतले साउन ११ गते बिहीबार थापाकाे नियुक्ति खारेज गरेको थियो ।