काठमाण्डाैं । नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । साथै गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै भू–भागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।