पाँचथर । दुई दिनयता निरन्तर भइरहेको वर्षा अझै दुई दिन रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षाको प्रक्षेपण गरिएको हो ।
मौसमविद प्रतिभा मानन्धरका अनुसार बिहीबार र शुक्रबार नेपालका पूर्वी र मध्य भेगमा तथा शनिबार पश्चिम भेगमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अहिले पनि वर्षा भइरहेको छ ।
कोशी प्रदेशका सुनसरीको धरान, चतरा, झापाको कनकाई, अनारमणि बिर्तामोड, चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । कोशीका ती क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा होचा भूभागमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।
वर्षा र पहिरोको कारण मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको छ । सडक विभागका अनुसार मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँएपछि सडक अवरुद्ध भएको छ ।
यसैगरी तमोर करिडोर अन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा– गणेशचोक सडकखण्ड पनि अवरुद्ध छ । यो सडकखण्डमा पर्ने पाँचथरको माझीटार र हेवा खोलामा सडकमा भएको क्षतिका कारण यातायात पूर्णरुपमा ठप्प भएको हो । संखुवासभाको मुढे, हाइटार र दोभानमा पहिरो जाँदा कोशी राजमार्ग एकतर्फी भएको छ ।