काठमाडौं । घटना २० असार राति साढे ८ बजेतिरको हो । विराटनगरको एक फ्याक्ट्रीमा काम गर्ने पवन साह साइकलमा घर फर्किँदै थिए । उनीमाथि एक्कासि सडकमै कुटपिट हुन्छ ।
विपरीत दिशाबाट जाँदै गरेको बा. १५ च ३४४५ नम्बरको कार रोकेर त्यहाँबाट निस्केका एक युवकले साहको मुखमा मुक्का हान्छन् । लगत्तै सडकमा लडेका साह अचेत हुन्छन् । यसपछि कारबाट निक्लिएका अर्को व्यक्तिले उनको साइकल छेउतिर फ्यालिदिन्छन् । कुट्ने व्यक्तिले साहलाई पनि घिसाेरेर छेउमा लैजान्छन्, अनि आफू बाटो काट्छन् ।
यो घटना विराटनगरको दुधफारमस्थित कोशी राजमार्गमा भएको हो । घटना भएको पाँच दिनपछि सोमबार सीसीटीभी फुटेज बाहिरियो, जहाँ साहमाथि अमानवीय तरिकाले कुटपिट भएको देख्न सकिन्छ ।
प्रहरीले कुटपिट गर्ने मुख्य व्यक्ति १९ वर्षीय आयुष भेटुवाललाई मंगलबार पक्राउ गरेको छ । यसका लागि प्रहरीलाई सीसीटीभी फुटेजले सहयोग गर्याे ।
पीडितबाट उजुरी आएको १२ घण्टाभित्रै कुटपिटमा संलग्न आयुषलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक पाेखरेलले बताए । उनका अनुसार घटनामा संलग्न अन्य दुइ व्यक्ति १८ वर्षीय कुशल भेटुवाल र ३० वर्षीय रोशन कार्की फरार रहेको र खोजीकार्य जारी छ ।
”उजुरीमा दिइएको विवरण, प्रत्यक्षदर्शीको बयानसँगै प्रहरीलाई पीडकसम्म पुग्न सीसीटीभी फुटेजले सहयोग गरेको उनको भनाइ छ । हामीलाई प्राप्त सीसीटीभी फुटेजमा सो घटनाको विवरण प्रस्ट देखिएकाले अनुसन्धान गर्न सहज भयो,” एसपी पाेखरेलले भने, ”फरार रहेकाहरू पनि चाँडै समातिँदैछन्,” उनले भने ।
प्रविधिले जहिले पनि अनुसन्धान र छानबिनमा सत्यत्थ्य कुरा पत्ता लगाउन सहयोग गरेको बताउँदै उनले सडक र सार्वजनिक स्थलमा उच्च गुणस्तरका सीसीटीभी राख्न सम्बन्धित निकायलाई आग्रह पनि गरे । ”स्मार्ट जमानामा स्मार्ट तरिकाले काम गर्ने हो । वैज्ञानिक उपकरणको ठूलो महत्त्व हुन्छ,” उनले भने, ”म त अबको जमानामा रेटिना डिटेक्ट गर्ने, बायोमेट्रिक लिनसक्ने सीसी क्यामेरा जडान हुनुपर्छ भन्छु । जसको प्रयोगले पीडक तत्कालै पक्राउ पर्ने अवस्था रहन्छ ।”
