काठमाडौँ । सभामुखको समेत गणना गरेर कोशी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ भएको छ।
सरकार अवैधानिक भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिट आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइएको हो।
निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार वारेसमार्फत् रिट दर्ता गराएका थिए।
रिटमा नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ।
रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरलाई मान्यता दिनु संविधान विपरीतको कार्य भएको कार्कीले दाबी गरेका छन्।
थापा चार दलको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गराएर प्रदेश प्रमुखसमक्ष थापाले दाबी पेस गरेका थिए।