बिराटनगर । कोशी प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध नेकपा एमालेले दर्ता गराएको रिटमाथि आज सुनवाइ हुँदैछ । सरकार गठनका लागि सत्ता गठबन्धनका दलहरूले सभामुखको हस्ताक्षर प्रयोग गरेर गैरसंवैधानिक प्रक्रिया अपनाएको भन्दै एमालेले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमाथि आज सुनवाइ हुन लागेको हो ।
सत्ता गठबन्धनमा रहेका दलहरूसँग सरकार दाबीका लागि बहुमत सांसद संख्या नभएका कारण सभामुखको हस्ताक्षर गराइएको थियो । संसदमा तटस्थ बस्नुपर्ने सभामुख नै सत्ता पक्षमा लागेको भन्दै एमालेले चर्को आलोचना गरिरहेको छ ।
सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख परशुराम खापुडलाईसमेत विपक्षी बनाएर रिट दर्ता गरेका छन् ।
कार्कीले गत शुक्रवार सर्वोच्चमा रिट दर्ता गराएका हुन् । मुख्यमन्त्री भने बिहीबार नियुक्त भएका थिए । शुक्रबार मुख्यमन्त्री थापाले साना आकारको मन्त्रिपरिषद् गठनसहित शपथ खाएका थिए ।