पाँचथर । पुल बगाएर सडक सम्बन्ध विच्छेद भएको पाँचथरेको फालेलुङ गाँउपालिकामा पुनः निर्माणका लागि केन्द्र र प्रदेश सरकारले चासो नदिएपछि गाँउपालिका आफैँले हेवा खोलमा डाइभर्सन बनाउनका लागि श्रमदान सुरु गरेको छ ।
असारको सुरुवातमा गएको बाढी, पहिरोले ठूलो क्षति पुर्याएपछि गाँउपालिकाले श्रमदान र आर्थिक सहयोग जुटाएर गाडी सुरु गर्ने हिम्मत गरेको हो ।
पटक पटक केन्द्र र प्रदेश सरकारलाई अनुरोध गर्दा सुनुवाइ नभएपछि यतिबेला फालेलुङबासी श्रमदानमा जुटेका छन् । यो गाँउपालिको ५, ७ र ८ नम्बर वडाबाहेकका वडामा सडक सम्पर्क विच्छेद छ । गाँउपालिका केन्द्र जाने सडकका पक्की पुल बगाएको छ ।
गाँउपालिकाले झोलुङ्गे पुलबाट मोटरसाइकल तार्ने व्यवस्था मिलाएको छ ।
घुमाउनेटार भन्ने ठाँउमा हेवा खोलमा डाइभर्सन बनाउन बिहीबारदेखि श्रमदान सुरु भएको छ । गाँउपालिकाले श्रमदानको आह्वाान गरेको थियो । पहिलो दिनको श्रमदानमा ७५ जनाको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए ।
गाँउपालिकाले बजेट नभएको भन्दै श्रमदान र आर्थिक सहयोग आह्वान गरेको थियो । आर्थिक संकलन हुनेक्रम पनि जारी रहेको छ । गाँउपालिकाले होम पाइप ल्याएको छ । संकलित रकमबाट यो होमपाइपको रकम तिरिने बताइएको छ ।
श्रमदानका माध्यमबाट नै पुल बनाएर गाडी आवागमन गराइछाड्ने गाँउपालिका अध्यक्ष विरविक्रिम थाम्सुहाङले बताए ।