धनकुटा । धनकुटाको चौबीसे गाउँपालिका ५ मुर्कुटे भन्ने स्थानमा तमोर नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मकवानपुर जिल्लाको मनोहरीका १८ वर्षीय डुवा मोक्तान र ३२ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ ।
दुवै जना निर्माणाधीन तमोर करिडोर सडक आयोजनाका मजदुर रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
उनीहरू सडकमा काम गर्ने क्रममा चिप्लिएर नदीमा खसेका हुन्,’ प्रवक्ता कुँवरले भने, ‘खोजी कार्य जारी छ । घटना बुधबार बेलुकी ५ बजेको भए पनि प्रहरीले बिहीबार अपराह्नमात्र त्यसबारे जानकारी गराएको छ । वर्षाले अत्यधिक बाढी आइरहेकाले खोजतलासमा समस्या भएको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी, स्थानीयवासी खोजतलासमा रहेको जनाइएको छ ।
यसैबीच, गत असार ८ गते तमोर नदीले बगाएका इन्जिनियर सिद्धार्थकुमार खत्री अझै बेपत्ता छन् । मोरङको बेलवारी घर भएका खत्री साँगुरीगढी–९ दिलुङटारमा मोटरेबल पुल निर्माणको नापजाँचको क्रममा चिप्लिएर नदीमा खसेका थिए । उनको खोजीकार्य जारी राखिए पनि फेला पार्न नसकिएको प्रहरीको भनाइ छ ।