काठमाडौं । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले कोशी प्रदेशको मुख्यमन्त्री को पहिला भन्ने विवाद टुंग्याएका छन् । तर निकै अप्ठ्यारो अंक गणितका कारण संकट भने कायमै रहेको नेताहरु बताउँछन् ।
एमाले नेतृत्वको सरकारका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत नपाएसँगै कोशीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । तर पाँचदलीय गठबन्धनमा मुख्यमन्त्री आलोपालो गर्ने भन्ने पनि समझदारी छ । तर नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच को पहिला मुख्यमन्त्री हुने भन्ने सहमति जुट्न सकेन ।
आइतबार प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेपछि गठबन्धनका नेताहरु आफ्नो नाममा सहमति जुटाउन काठमाडौं आए । उनीहरुले आफ्नो दल मात्र होइन, गठबन्धनमा आवद्ध दल दलका नेताहरुलाई भेटे ।
अनि सोमबार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुबावाटारमा बस्यो । बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सञ्चारकर्मीहरुलाई भने, ‘गठबन्धनमा भएका दलहरुको तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न सल्लाह दिने निर्णय भएको छ ।’
एक नेताका अनुसार कोशीको मुख्यमन्त्री पाउनुपर्ने माओवादीको दाबी कायमै थियो । हाल कांग्रेसले ३ वटा प्रदेश सरकारको नेतृत्व गरिरहेको र कोशी आफूहरुले लिएपछि समान ३ वटा हुने माओवादी नेताहरुको तर्क थियो । प्रधानमन्त्रीकै दलको मुख्यमन्त्री हुँदा सहज हुने भन्दै माओवादी नेताहरुले कोशीमा पहिलो पालोमा आङ्बोलाई मुख्यमन्त्री बनाउनुपर्ने तर्क गरेका थिए ।
तर कांग्रेसले अहिले आफूहरुको चार मुख्यमन्त्री भएपनि भोलि माओवादीको पनि हुने बताए । सुदूरपश्चिम प्रदेशमा १०÷१२ महिनापछि माओवादीको मुख्यमन्त्री हुने भन्दै कांग्रेसका एक नेता भन्छन्, ‘फेरि गणितका हिसाबले पनि हामी अगाडि भयौं ।’
अरु दलले पनि पहिलो पालो कांग्रेसलाई दिँदा हुने बताएपछि माओवादी नेताहरु सहमत भए । अब कोशी प्रदेशमा पहिलो पटक कांग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुलेको छ ।
टरेको छैन संकट
पाँचदलीय गठबन्धनमा को पहिला मुख्यमन्त्री बन्ने बाटो खुलेपनि सरकार गठन सहज देखिएको छैन ।
किनकी प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० सिट छ र, उसले हाल सरकारमा रहेको ६ सिट भएको राप्रपालाई आफूसँगै राख्न प्रयास गरिरहेको छ ।
एमाले र राप्रपा एक ठाउँमा भएको अवस्थामा पाँचदलीय गठबन्धनलाई मुख्यमन्त्रीमा दाबी गर्न सकस हुनेछ । किनकी माओवादी केन्द्रबाट निर्वाचित बाबुराम गौतम सभामुख छन्, जो सरकार गठन प्रक्रियामा सहभागी हुन मिल्दैन । उनलाई नगन्ने हो भने पाँचदलीय गठबन्धनसँग पनि ४६ सिट (कांग्रेस २९, माओवादी १२, एकीकृत समाजवादी ४ र जसपा १) मात्र हुन्छ, जुन ९३ सदस्यीय प्रदेशसभाको बहुमतका लागि एक कम हो ।
गठबन्धनका कतिपय नेता प्रदेश प्रमुखको आह्वानअनुसार मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने क्रममा संसदीय दलका नेताहरुले हस्ताक्षर गर्ने भएकाले सरकार गठन हुनसक्ने दाबी गर्छन् । त्यसो भएको अवस्थामा पनि संकट टर्दैन ।
किनकी संविधानको धारा १६८ (२) अनुसार नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘अहिले सरकार बनाइहाले पनि भोलि प्रदेशसभाबाट विश्वासको मत लिने बेला ४६ हुन्छ । किनकी त्यो बेला सभामुखले मतदान गर्न मिल्दैन ।’
त्यसैले अहिले नै राप्रपासँग सहमति गर्ने आफूहरुको प्रयास रहेको उनले सुनाए । त्यही क्रममा सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका छन् । यद्यपि लिङ्देनले सरकार गठनमा सघाउने ठोस बचन दिएका छैनन् । कांग्रेसका एक नेता भन्छन्, ‘भरे भोलि थप छलफल गर्छौं ।’
नेताहरुका अनुसार पहिलो पालोमा मुख्यमन्त्री नपाएको माओवादीको असन्तुष्टि पनि सम्बोधन गर्नुपर्ने छ भने जसपालाई पनि गठबन्धनमा राखिराख्नुपर्ने छ ।