ताप्लेजुङ । बुधबार बेलुकादेखिको वर्षा र काबेली नदीमा आएको बाढीले ताप्लेजुङको पूर्वी क्षेत्रका सिदिङ्वा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको छ । मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया समेत बगाएको स्थानीयले बताएका छन् ।सिदिङ्वा गाउँपालिका १ सुरुमखिमका वडा सदस्य राजकुमार इम्वुङका अनुसार बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको हो । गत जेठ महिनामा उद्घाटन गरिएको पुलको एकापट्टिको पिलरसहितको भाग भत्काएको हो । बाढीले सिरिजंगा गाउँपालिका ८ याम्फुदिनको जनजिवन पनि प्रभावित भएको छ ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकमाुर राईका अनुसार काबेली नदीमा आएको बाढीले जगतबहादुर राईको घर पुरेको छ भने कञ्चनजंघा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकिको भवन जोखिममा छन् । विद्यालय र प्रहरी चौकीको नजिकै खोलाले कटान गरिरहेकोले बिहान स्थानीयले विद्यालयको सामान सारिरहेको उनले बताए । बाढीले दिलबहादुर मगरको एउटा गाई, एउटा भैंसी र सुँगुर समेत बगाएको छ ।
तारामान गुरुङ, अशोक गुरुङ, मणिकुमार राई, तार्सदिप गुरुङ, रामकुमार राई, सोमबहादुर राईका घर जोखिममा रहेको स्थानीयले बताएका छन् । बिहीबार बेलुका यो क्षेत्रमा सामान्य वर्षा भए पनि राति १० बजेको समयमा खोलामा आएको बाढीले व्यापक क्षति पुर्याएको परिषद् सदस्य राईले बताए ।काबेली हाइड्रो पावरको गोदाम बगाउँदा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । मेसिन, गोदाम र क्रसर समेत बगाएको छ । खेवाङतर्फ आउने झोलुङ्गे पुल पनि आधा ढलेकाले मानिसको आवतजावतमा समेत समस्या हुन थालेको छ । यो पुल पनि बगे याम्फुदिनका मानिस बस्ती बाहिरका अन्य क्षेत्रमा जानबाट बञ्चित हुने छन् ।
सिदिङ्वा १ सुरुमखिमका विद्यालय आइतबार सम्मका लागि बन्द गरिएको बालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर गुरुङले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान पनि वर्षा भइरहेको छ र बालबालिका विद्यालय जान सक्ने अवस्था छैन । सदरमुकाम फुङलिङबाट यात्रु लिन गएका दर्जनौं सवारी साधन गाउँमै रोकिएको विमलले वताए । वर्षा रोकिएर सडक नबनाएसम्म फर्काउने उपाय नभएको उनले जानकारी दिए ।