इलाम । सरकारले इलाममा वायु गुणस्तर मापन केन्द्र विस्तार गर्ने भएको छ । वायुको मात्राको विश्लेषण गरेर आगामी कदम चाल्न र सचेतनामूलक जानकारी दिन वातावरण विभागले देशका विभिन्न स्थानमा जडान गरेजस्तै मापन केन्द्र इलाममा पनि स्थापना गर्ने भएको हो ।
यस्तो केन्द्र स्थापना गर्न एक देखि दुई करोड रुपैयाँ खर्च लाग्छ । देशभरमा २७ स्थानमा केन्द्र स्थापना गरिएपनि मर्मत सम्भार समयमा नहुँदा नौ वटा मात्र अहिले सञ्चालनमा छन् ।
यसले कसरी काम गर्छ ?
मापन केन्द्रले हावामा रहेका मसिना धुलोका कण तथा ग्यासको मात्राको विश्लेषण हरेक मिनेटमा दिन्छ । ती केन्द्रबाट प्राप्त सूचना एकीकृत रूपमा वातावरण विभागको वेबसाइट (डब्लुडब्लुडब्लु डट पोलुसन डट जिओभी डट एनपी) मा हुनुपर्छ ।
केन्द्र स्थापना भएको क्षेत्रको हावालाई तानेर धुलो, धुवाँ र ग्यासको मात्रा विश्लेषण गर्छ । यसरी वायुमण्डलमा रहेको वायु प्रदूषणको मात्रालाई वायु गुणस्तर सूचकांक पिएम– १, पिएम– २.५ र पिएम– १० मा विश्लेषण (पार्टिकुलर म्याटरलाई माइक्रोग्राम प्रतिघनमिटरमा मापन गरेर) गर्छ । जसबाट वायु गुणस्तर मापन केन्द्र क्षेत्रमा रहेको वायु प्रदूषणको मात्रा तत्काल थाहा पाउन सकिन्छ भने ती तथ्यांकलाई विश्लेषण गरेर सरकारले वार्षिक कार्ययोजनामार्फत वायु प्रदूषण नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ ।