काठमाडौं । वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिने भन्दै रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ घर भई ललितपुर महानगरपालिका–१४ नखिपोट बस्ने ४६ वर्षीय एकराज नेम्वाङ पक्राउ परेका हुन् । उनले विजय लिम्बूलाई स्लोभाकिया पठाइदिने भन्दै १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका प्रहरीले बताएको छ ।
विदेश पठाउनका लागि १५ लाख रुपैयाँ लाग्ने बताएर १२ लाख रुपैयाँ लिइसकेपछि एकराज सम्पर्कविहीन रहेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी सोमेन्द्र सिंह राठौरका अनुसार एकराजले विजयलाई स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु, मासिक दुई लाख रुपैयाँभन्दा बढी तलब हुन्छ भनी विश्वास दिलाएर पीडितबाट पटकपटक गरी १२ लाख रुपैयाँ लिएका हुन् ।
वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएसँगै कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले एकराजलाई गोंगबुबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको राठौरले जानकारी दिए ।