ताप्लेजुङ — फुङलिङ नगरपालिकाले सडक क्षेत्राधिकारमा पर्ने संरचना आफैं हटाउन अन्तिम सात दिनको समय दिएको छ ।
ती संरचना वैशाख २ गतेसम्म नहटाए सडक ऐन अन्तर्गत हुने उल्लेख गरिएको छ ।
चैत २६ गतेको मितिमा जारी सूचनामा ‘यस अघि नै पटक-पटक सूचना तथा जानकारी गराइ सकिएको हुँदा यो सूचना प्रकाशित भएको मितिले सात दिन भित्रमा अनिवार्य रुपमा हटाउन हुन अन्तिम पटक यो सूचना जारी गरिएको छ’ भन्ने व्यहोरा उल्लेख छ ।सूचनामा सडकको बीच भागदेखि दायाँ-बायाँ साढे सात/साढे सात मिटर खाली गर्न भनिएको छ ।
नगरपालिकाले यसअघि ३५ दिने, १५ दिने र ७ दिने सूचना गरेको थियो । यो सूचना हुँदा कतिपय नगरबासीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । नगरपालिकाले हटाउने क्षेत्रको रेखांकन समेत भएको जनाएको छ । रेखांकनको समयमा पनि नगरबासीले अवरोध गरेका थिए ।
सदरमुकाम भित्रको सडक अन्यन्तै साँघुरो भइ दुर्घटना समेत बढेको भन्दै नगरपालिका प्रमुख अमिर मादेन निर्वाचित भएपछि सडक बिस्तारको योजना अघि बढाएका छन् । यसका लागि उनले सडक डिभिजन कार्यालयसँग पनि समन्वय गरेका छन् ।