दिपक बाेहाेरा ।
पाँचथरका ९५ प्रतिशत घरपरिवारले सहज रुपमा खानेपानीको उपभोग गर्दै आएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा धारा र पाइपको प्रयोगमा ९४ दशमलव ४ प्रतिशत नागरिकले सहज रुपमा खानेपानीको उपभोग गर्दै आएको पाइएको हो ।
जिल्लाका ४२ हजार ४ सय ९५ घरपरिवार मध्ये १८ हजार १सय ४ परिवारले धारा पाइपको पानी घरभित्र र परिसरमै उपभोग गर्दै आएको तथ्यांकमा समावेश गरिएको छ । झण्डै १ हजारले मूलधाराको र ८ सय १६ परिवारले खुल्ला इनारको पानी उपभोग गर्दै आएको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकको सुविधा र साधनअन्तर्गत ८५ दशमलव ९ प्रतिशत अर्थात् ३६ हजार ४ सय ५४ परिवार काठ र दाउरामार्फत् खाना बनाउने इन्धनका रूपमा प्रयोग गर्दै आएका छन् । एलपी ग्याँसको प्रयोग गर्ने नागरिकको संख्या ५ हजार ६ सय ८३ रहेको छ । बत्ती बाल्न प्रयोग हुने इन्धनतर्फ ८६ प्रतिशत घरपरिवारले विद्युत उपभोग गर्दै आएको तथ्यांकमा देखिन्छ । तथ्यांकअनुसार जिल्लाका ३१ हजार ९ सय ३७ ले सुविधा सम्पन्न र ८ हजार परिवारले साधारण शौचालयको प्रयोग गरेको देखिन्छ । शौचालयको रुपमा एक हजार ४ सयले सार्वजनिक ढल प्रयोग गर्दै आएका छन् भने करिब ४ सय जनाको शौचालय नै छैन् । साधन र सुविधाअन्तर्गत पाँचथरका करिब ९४ प्रतिशत घरपरिवारले कुनै न कुनै साधन र सुविधा प्रयोग गर्दै आएका छन् ।
रेडियो ४९, टेलिभिजन ३८, साधारण मोबाइल ८४ प्रतिशत घरपरिवारले प्रयोग गरेका छन् भने, स्मार्ट मोबाइल फोन प्रयोग गर्नेको संख्या करिब ६६ प्रतिशतले हुने २८ हजार घरपरिवार रहेको छ । जिल्लामा १२ हजार घरपरिवारले इन्टरनेटको प्रयोग गर्दै आएको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार २ हजार ३ सय ४१ घरपरिवारले ल्यापटप वा कम्प्युटर प्रयोग गरेका छन् भने करिब ३ सय ८६ घरपरिवारले कार, जीप भ्यान प्रयोग गरेको देखिन्छ । झण्डै १० प्रतिशतले हुने ४ हजार घरपरिवारले मोटरसाइकल वा स्कुटर प्रयोग गर्दै आएको तथ्यांकले देखाउँछ ।