पाँचथर । पोखरा रंगशाला क्रिकेट मैदानमा बुधबारदेखि पोखरामा बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता हुँदै छ । बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजनामा हुने प्रतियोगितामा देशभरका ६ क्रिकेट एकेडेमीले खेल्नेछन् ।
प्रतियोगिता चैत २७ सम्म हुनेछ । बलियो नेपालका वित्त तथा प्रशासन व्यवस्थापक प्रकाश बख्रेलका अनुसार इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर प्रतिस्पर्धी हुँदै छन् । ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा टी–२० फर्म्याटमा खेल हुनेछ ।
खेलक्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उद्देश्यअनुसार बलियो नेपालले ग्रासरुट क्रिकेटको प्रवर्द्धनका लागि ०७८ सालदेखि नै बलियो नेपाल कप आयोजना गर्दै आइरहेको बख्रेलले बताए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले यू–१९ का प्रतियोगिताहरू नभइरहेको अवस्थमा यो प्रतियोगिताले नयाँ खेलाडीको प्रतिभालाई उजागर गर्ने बताए ।